नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनले कांग्रेस बदलिन तयार छ भन्ने सन्देश दिएको दाबी गरेका छन्। मंगलबार बन्द सत्रमा उठेका विषय सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो दाबी गरेका हुन्।
‘विशेष महाधिवेशनबाट हामीले कांग्रेस बदलिन तयार छ, बदलिएको कांग्रेस देश बदल्न सक्छ भन्ने संकल्प दर्साएका छौँ,’ महामन्त्री थापाले भने। यस्तै नआएका नेता पनि आए जस्तै ठानेर छलफल गरेको उनले दाबी गरे।
‘यहाँ नआउनुभएको मेरो श्रद्धेय सभापति, श्रद्धेय कार्यवाहक सभापति र जति पनि जिल्ला सभापति, कतिपय महाधिवेशन प्रतिनिधि यहाँ आउनुभएको छैन,’ उनले भने, ‘हामीले यी कुर्सीहरूमा तपाईँहरू उपस्थित नभएता पनि तपाईँहरू उपस्थित हुनुभएको छ भन्ने ठानेर छलफल गरेका छौँ।’
भृकुटीमण्डपमा आफूले कुनै समय भनेर छलफल नगरेको पनि महामन्त्री थापाले बताए। उनले भने, ‘किनकि हामी सिंगो कांग्रेस बनेर छलफल गरिरहेका छौँ कुनै समूह भनेर छलफल गरिरहेका छैनौँ।’
विशेष महाधिवेशनले कांग्रेसलाई हानी हुने कुनै पनि काम नगरेको पनि गगनले दाबी गरे।
प्रकाशित: २९ पुस २०८२ १९:०३ मंगलबार





