प्रतिनिधि सभाको सभामुखमा डोलप्रसाद अर्याल (डीपी अर्याल) निर्वाचित हुँदैछन् । उनी आगामी आतबार अर्थात चैत २२ गतेदेखि सभामुख बन्नेछन् । संसद सचिवालयको कार्यसूची अनुसार आइतबार बिहान ११ बजेदेखि सुरु हुने बैठकले अर्याललाई सभामुख निर्वाचित गर्नेछ ।
संसद सचिवालयको कार्यसूची अनुसार सभामुखको उम्मेदवारमा शुक्रबार अर्यालको एकल उम्मेदवारी परेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापतिका उपसभापति रहेका उनी रास्वपाको सदस्यता त्याग्दै सभामुख बन्नेछन् । यसअघि गृहमन्त्री बन्ने भन्ने चर्चाकाबीच अर्याल सभामुख बने ।
नेपालको बरियताक्रममा सभामुख पाँचौँ बरियता हो । राज्यको बरियतामा सम्माननीय पदको पहिलो बरियता राष्ट्रपति, दोस्रो बरियता उपराष्ट्रपति, तेस्रो बरियता प्रधानमन्त्री, चौथो बरियता प्रधानन्यायाधीश र पाँचौँ बरियता सभामुख र राष्ट्रिय सभाका अध्यक्षको हुन्छ ।
अबको पाँचौ बरियतामा आउने र संसद् सञ्चालनको जिम्मेवारी पाउने भविष्य खोज्दै काठमाडौं भित्रिएका व्यक्ति हुन् ।
गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा करिब दुई तिहाइ नजिकको बहुमतसहित रास्वपाले प्रतिनिधि सभा नेतृत्व गरेकाले रास्वपाकै उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल) सभामुख बन्दैछन् । अर्याललाई सभामुख बनाउन रास्वपाको संसदीय दलको बिहीबारको बैठकले सर्वसम्मत निर्णय गरिसकेको छ । शुक्रबार उम्मेदवारी प्रक्रिया सकिएको छ भने आइतबार सभामुख नियुक्त हुँदैछन् ।
को हुन सभामुख बन्ने डीपी अर्याल ?
अर्याल २०४९ सालमा धादिङबाट भविष्य खोज्दै काठमाडौं छिरेका युवा हुन् । धादिङको साबिक मैदी गाविस, हालको ज्वालामुखी गाउँपालिकामा २०३२ सालमा बुबा बोजराज र आमा गुणमायाको कोखबाट जन्मिए। अम्बिका केसीसँग वैवाहिक बन्धनमा बाँधिएका उनका दुई छोरा छन् ।
२०४९ सालपछि काठमाडौं आएका उनले मजदुरी गरी जीवन अघि बढाए । रेस्टुरेन्टमा सामान्य मजदुरको रूपमा काम थालेका उनी पछि इजिलिंक रेमिटेन्सको सिईओसम्मको जिम्मेवारीमा काम गरे ।
काठमाडौंमा काम गर्दा नै उनलाई वैदेशिक रोजगारीले आकर्षित गर्यो । २०५३ सालमा वैदेशिक रोजगारीका लागि जापान गए । जापानमा करिब ८ वर्ष काम गरे । जापानमा कमाएको पैसा नेपालमा आएर पर्यटन क्षेत्रमा लगानी लगे । पर्यटन व्यवसायबाट वैदेशिक रोजागरीपछि नेपालमा काम थालेका उनले वैदेशिक अध्ययनका लागि कन्सल्टेन्सी सेवा, सहकारी र शिक्षा क्षेत्रमा पनि एकैपटक लगानी गरी व्यावसायिक काम थाले ।
अर्यालले सुमिरे टुर्स एण्ड ट्राभल्स, योकोहामा जापानिज ल्याङ्ग्वेज एकेडेमी, हेम्स स्कूल, जनसागर बचत तथा ऋण सहकारी संस्था र इजिलिंक रेमिटेन्समा लगानी गरी स्वदेश तथा विदेशमा रोजगारी सिर्जना गरे र वैदेशिक मुद्रा भित्राउने काममा जुटे ।
व्यवासायिकसँगै सामाजिक काममा जुट्न थालेका उनले कालिकोटमा रास्कोट सामुदायिक अस्पताल बनाउने कार्यमा महत्त्वपूर्ण भूमिका खेले । कोरोनाको समयमा सामाजिक भूमिका निर्वाह गरे । अक्सिजन सिलिन्डर वितरणदेखि राहत र उद्धारमा सक्रिय रहे ।
यसरी विभिन्न क्षेत्रमा काम गरेका उनीसँग शिक्षा, पर्यटन, वैदेशिक अध्ययन, सहकारी र रेमिटेन्सका क्षेत्रमा काम गरेको गहिरो अनुभव छ ।
राजनीति यात्रा
अर्याल अहिले शक्तिशाली जनमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति हुन । २०७९ असार ७ गते रास्वपा गठन भएसँगै अर्यालको राजनीतिक यात्रा सुरु भयो । स्थापनाकालदेखिनै पार्टीमा क्रियाशील रहे । पार्टी गठन भएकै महिना असार १७ गते निर्वाचन आयोगमा रास्वपा दर्ता हुँदा अर्यालको नाम केन्द्रीय सदस्यहरूको सूचीमा तेस्रो स्थानमा थियो । यही बरियतामा उनी रहे ।
अघिल्लो निर्वाचनबाट समानुपातिक प्रणालीबाट अर्याल सांसद बने । रास्वपा सरकारमा सहभागी हुँदा उनी दुई पटक श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बने । मन्त्रीका रुपमा उनको पहिलो कार्यकालमा २२ दिनको मात्र भयो । पुष्षकमल दाहाल प्रधानमन्त्री हुँदा २०७९ माघ ३ मा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री नियुक्त भएका थिए । २०७९ माघ १३ मा सर्वोच्च अदालतले पार्टी सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य हुन योग्य नरहेको ठहर गरेपछि रास्वपाले सरकार छोड्दा अर्याल २२ दिनमात्र मन्त्री बनेर बाहिरिएका थिए । पहिला सरकार छाडेको एक वर्षपछि उनी पुनः त्यही मन्त्रालयको जिम्मेवारीमा पुगे ।
पार्टीभित्र नेतृत्वको धेरै उत्तारचढाव भयो । सभापति रवि लामिछाने जिम्वारीमा नहरँदा उनी नै कार्यबाहक सभापतिको जिम्मेवारीमा रहेर पार्टी सञ्चालन गरे। सभापति लामिछाने विदेश जाँदा होस वा जेल पर्दा कार्यवाहक सभापतिको जिम्मेवारी अर्यालले नै सम्हाले ।
अहिले काठमाडौं-९ बाट फराकिलो मतान्तरले विजयी भएर प्रतिनिधि सभामा उनी पुगे । काठमाडौं क्षेत्र नम्बर-९को प्रत्यक्षतर्फको उम्मेदवार बनेका उनले ३५ हजार ०९३ मतसहित विजयी प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी नानुमैया बास्तोलाले पाँच ४६० मतमात्र ल्याएकी थिइन भने नेकपा एमालेका अजयक्रान्ति शाक्यले चार हजार ५८० मत मात्र प्राप्त गरे ।
के हुन्छ सभामुखको काम, कर्तव्य र अधिकार
सभामुखको काम र क्षेत्राधिकार कानून मै व्यवस्था छ । बैठक सञ्चालनसँगै सभामुखले कार्यव्यवस्था परामर्श, अनुशासन र नियन्त्रण, विधेयक प्रमाणीकरणलगायतका काम गर्छन् ।
बैठक सञ्चालन: प्रतिनिधि सभाको बैठकको अध्यक्षता गर्ने र बैठकको कारबाहीलाई नियमसम्मत ढङ्गले सुचारु रूपमा सञ्चालन गर्ने।
कार्यव्यवस्था परामर्श: कार्यव्यवस्था परामर्श समितिको सल्लाहमा संसदको दैनिक कार्यसूची तय गर्ने र बैठकको एजेन्डा स्वीकृत गर्ने।
अनुशासन र नियन्त्रण: बैठकमा शिष्टता र अनुशासन कायम राख्ने, नियम उल्लंघन गर्ने सदस्यलाई चेतावनी दिने वा बैठकबाट बाहिर निकाल्ने (निलम्बन गर्न सक्ने)।
तटस्थता र निर्णायक मत: सामान्यतया मतदानमा भाग नलिने, तर मत बराबर (Tie) भएमा संविधान बमोजिम अन्तिम निर्णायक मत (Casting Vote) दिने।
विधेयक प्रमाणीकरण: संसदबाट पारित विधेयकहरू प्रमाणीकरण गर्ने र राष्ट्रपति समक्ष पेस गर्ने।
संसदीय समिति र सचिवालय व्यवस्थापन: संसद सचिवालयको रेखदेख र नियन्त्रण गर्ने, कर्मचारीको व्यवस्थापन गर्ने र संसदीय समितिहरूलाई व्यवस्थित गर्ने।
नयाँ जनादेशसहित करिब दुई तिहाइ मतसहितको पार्टीबाट सभामुख बन्न लागेका अर्याललाई सफल कार्यकालको शुभकामना ।
प्रकाशित: २० चैत्र २०८२ १६:५५ शुक्रबार





