राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदको उम्मेदवार रन्जु दर्शनाले आफ्नो उम्मेदवारी फिर्ता लिँदै विपिन आचार्यलाई समर्थन गरेकी छिन्।
उनले केन्द्रीय पदाधिकारीको निर्वाचनमा ६ तहमा मत दिएर जिताएको र रास्वपाका धेरै प्रतिनिधि र सदस्यहरूले आफूबाट अपेक्षा राखेको बताउँदै उम्मेदवारी दिएको बताएकी थिइन्।
उनले भनिन्, ‘विवेकशील महाधिवेशनको प्रथम महाधिवेशनबाट महासचिवको भूमिकामा पनि थिए। उहाँहरू सबैले मेरो भूमिकालाई याद गरेर नै तपाईं आइदिनुस् रन्जु जी भन्नुभयो।’
सङ्गठनलाई बलियो बनाउनका लागि महामन्त्रीको पदमा उम्मेदवारी दिएको उनको भनाइ छ। तर, सबैको छलफलपछि उम्मेदवारी फिर्ता लिएको बताउँदै उनले सुनाइन्, ‘अहिलेको लागि यो एकता समायोजन सबै कुराको महाधिवेशन भनेर लिँदै गर्दा मैले विपिन आचार्य जी लाई महामन्त्रीको पदमा बढी र उच्च काम गर्न सक्ने व्यक्तिको रुपमा लिए।’
उनले थपिन्, ‘उहाँलाई समर्थन गर्ने निर्णय गर्दै आफ्नो उम्मेदवारी फिर्ता दिएको घोषणा गरेकी छु। ’ उनले सङ्गठनमा सधैँ एकताबद्ध हुन र साथ दिन तयार रहेको बताउँदै आचार्यलाई साथ दिने बताइन्। साथै, उनले महामन्त्रीको पदको लागी आफ्नो मत पनि आचार्यको पक्षमा रहेको बताइन्।
यसअघि महामन्त्रीका चार उम्मेदवारहरू गणेश पराजुली, प्रमोद न्यौपाने, कवीन्द्र बुर्लाकोटी र जगदीश खरेलले एकसाथ विपिनलाई समर्थन गर्ने घोषणा गरेका थिए।
यस्तै, उम्मेदवार राजु पाण्डेले पनि उम्मेदवार फिर्ता लिएका छन्। अब महामन्त्रीमा विपिन आचार्यसँगै मनिष झा, सागर ढकाल र गणेश कार्कीबिच प्रतिस्पर्धा हुने भएको छ।
प्रकाशित: १२ असार २०८३ १३:४३ शुक्रबार





