२५ आश्विन २०८३ आइतबार
image/svg+xml
राजनीति

मेरो पुस्ताका साथीहरूको साथ मसँगै रहन्छ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र कोही जित्ने र कोही हार्ने अवस्था नरहेको बताएका छन्। उनले आफ्नो पुस्ताका सबै साथीहरूको साथ आफूलाई रहने भन्दै कसैले पनि मन खिन्न बनाउन नहुने बताएका हुन्। 

सभापतिमा निर्वाचित भएपछि सम्बोधन गर्दै थापाले आजबाट आफ्नो राजनीतिक जीवनको नयाँ अध्याय सुरु भएको बताए। १४–१५ वर्षको उमेरमा विद्यार्थी राजनीतिबाट यात्रा सुरु गरेको स्मरण गर्दै उनले यहाँसम्म आइपुग्दा धेरै साथीको स्नेह, साथ र सहयोग पाएको बताए। 

उनले विशेष महाधिवेशनका क्रममा आफूलाई भरोसा गर्ने नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गर्दै विशेष महाधिवेशनबाट बनेको केन्द्रीय समितिका पदाधिकारी, सदस्य, केन्द्रीय कार्यालयका कर्मचारी तथा निर्वाचन समितिमा रहेर काम गर्ने सबैलाई उनले धन्यवाद दिए। 

थापाले पार्टीका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मासँगको सम्बन्धलाई स्मरण गर्दै राजनीतिक प्रतिस्पर्धाले व्यक्तिगत सम्बन्ध बिगार्नुपर्ने मान्यतालाई आफूहरूले बदल्ने विश्वास व्यक्त गरे। 

आफू अघिल्लो महाधिवेशनबाट महामन्त्री निर्वाचित भएपछि शर्माले घरमै पुगेर आफ्ना बुवा–आमालाई भेटेको प्रसंग सुनाउँदै थापाले त्यसबेला शर्माले आफूलाई सभापति बनाउने र उनको नेतृत्वमा कांग्रेसलाई नयाँ ढंगले अघि बढाउने प्रतिबद्धता जनाएको बताए। 

‘म पनि महामन्त्री हुँ, गगन पनि महामन्त्री हो। म कुनै बेला गगनको नेपाल विद्यार्थी संघको अध्यक्ष थिएँ। तर आज मैले महामन्त्रीको रूपमा गगन थापालाई बधाई दिन मात्र आएको होइन। योभन्दा अगाडिको यात्रामा एक पटक नेपाली कांग्रेसको सभापति गगन थापालाई बनाउने हो र गगनको नेतृत्वमा नेपाली कांग्रेस पार्टीलाई नयाँ ढंगले लिएर जाने हो,’ शर्माले त्यतिबेला भनेको कुरा स्मरण गर्दै थापाले बताए। 

थापाले समकालीन तथा अघिल्ला पुस्ताका नेताहरूबीच पार्टी र राज्यको नेतृत्व लिने क्रममा प्रतिस्पर्धा हुँदा व्यक्तिगत सम्बन्ध बिग्रिएका उदाहरण रहेको उल्लेख गरे। तर, आफ्नो र शर्माको सम्बन्धले यस्तो राजनीतिक संस्कार बदल्न सक्ने उनको विश्वास छ। 

प्रकाशित: २४ आश्विन २०८३ १५:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App