संघीय संसद्अन्तर्गत आज प्रतिनिधि सभाका चार वटा महत्वपूर्ण समितिका बैठकहरू बस्ने भएका छन्।
आज कानुन, न्याय तथा मानव अधिकार समिति, अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति तथा कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बस्न लागेको हो। आज बिहान ९:३० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा स्वतन्त्र न्यायपालिका तथा न्याय प्रशासनको वर्तमान अवस्था, समस्या र समाधान सम्बन्धमा विस्तृत छलफल हुनेछ।
संघीय संसद् सचिवालय, सिंहदरबारमा बस्ने उक्त बैठकका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण मन्त्री सीता वादी, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार, सम्बन्धित मन्त्रालयका सचिवहरू तथा समाज कल्याण परिषद्का सदस्य सचिवलाई बोलाइएको छ।
यसैगरी, बिहान १०:०० बजे बस्ने अर्थ समितिको २१ औं बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल हुनेछ। समितिको बैठकका लागि अर्थमन्त्री स्वर्णीम वाग्ले, अर्थ सचिव, कानुन सचिव र नेपाल राष्ट्र बैंकका प्रतिनिधिहरूलाई बोलाइएको छ।
सोही समयमा यानी बिहान १०:०० बजे नै बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा छलफल हुनेछ। उक्त बैठकका लागि युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र मन्त्रालयका सचिवलाई बोलाइएको छ।
त्यस्तै, दिउँसो १:०० बजे बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा समितिमा प्राप्त उजुरीका सम्बन्धमा आन्तरिक छलफल हुनेछ।
प्रकाशित: २० श्रावण २०८३ ०९:१२ बुधबार





