१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

पूर्वराष्ट्रपतिलाई पार्टी भित्र र बाहिरबाट उचालिएको छः एमाले महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले दोस्रो विधान महाधिवेशनलाई पार्टीले राजनीतिक उत्वसको रुपमा मनाउने बताएका छन् । पार्टीले विधान महाधिवेशनको सन्दर्भमा पार्टीको गौरवपूर्ण विगतको सम्झना गर्नुपर्ने उनको भनाइ थियो ।  

पार्टी केन्द्रीय कार्यलयमा पार्टीको प्रचार विभाग र प्रेस चौतारीका पदाधिकारीहरुको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै महासचिव पोखरेलले विधान महाधिवेशनले पार्टीको नीति, विधी र भविष्यको नेतृत्वका सन्दर्भमा ऐतिहासिक निर्णयहरु गर्ने बताए । ‘नेतृत्व छान्ने महाधिवेशन र नीति बनाउने महाधिवेशन एकै पटक हुँदा नीतिका कुरा ओझेलमा परे । नेतृत्वका बारेमा मात्र बहस र प्रतिष्पर्धा भए’ महासचिव पोखरेलले भने, ‘जसले गर्दा एमालेले २०७८ सालमा पहिलो प्रथम र यसपाली दोस्रो पटक विधान महाधिवेशन गर्न लागेको हो ।’

पार्टीको विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराईज हलमा हुँदैछ । महाधिवेशनका सन्दर्भमा पार्टीले व्योहोरेका उतारचढाव, सरकारको नेतृत्व गर्दा हासिल गरेका उपलब्धि आदिका बारेमा ब्यापक चर्चा परिचर्चा गरेको जनजनमा विधान महाधिवेशनका सन्दर्भमा चासो र जिज्ञासा जागरण गराउनु पर्ने महासचिव पोखरेलको धारणा छ ।  

उनले पार्टीमा चर्चा र विवादको विषय बनाइन सुरु गरेको पूर्वराष्ट्रपतिको सन्दर्भमा छोटो समयमा उपयुक्त तरिकारले समाधान गरिएको बताए । यस विषयलाई पार्टी भित्रबाट भन्दा पनि पार्टी बाहिरबाट उछालिएको स्पष्ट भएको उनको भनाइ छ । ‘पूर्वराष्ट्रपतिको सक्रिय राजनीतिमा आगमनको सन्दर्भ पार्टी भित्रबाट भन्दा पनि पार्टी बाहिरबाट बढी उचालिएको रहेछ भन्ने कुरा साउन ६ गते सकिएको केन्द्रीय कमिटीबाट स्पष्ट भयो’ महासचिव पोखरेलले भने ‘केन्द्रीय कमिटीले सर्वसम्मत रुपमा उहाँलाई सम्माननीय कै स्थानमा बस्ने निर्णय लियो । यसबाट पुष्टि हुन्छ कि पार्टी भित्रका भन्दा पनि पार्टी बाहिरकाहरु उहाँलाई सक्रिय राजनीतिमा ल्याएर विवादमा पार्न चाहन्थे ।’

पूर्वराष्ट्रपतिको पार्टी सदस्यता नविकरण विशिष्ट प्रकारको विषय भएकोले यसका लागि विशेष निर्णय नै चाहिएको उनले स्पष्ट पारे । सदस्यता नविकरणका विषयमा कतिपयले हल्का टिप्पणी गरेको पाइएको र यस विषयको गहिराईमा उनीहरु नपुगेको बताए ।  ‘पार्टीबाट रिसाएकाहरुलाई पनि फकाएर सदस्यता नविकरण गरिन्छ । त्यसैले नविकरण गर्छ भनेर स्वतस्फूर्त भन्नेको नविकरण हुनुपर्ने हो’ महासचिव पोखरेलले भने, ‘उहाँ विशिष्ट व्यक्तित्व हो । सम्मानित व्यक्तित्व हो । त्यसैले पार्टीले पनि विशिष्ट प्रकारले सम्मानजनक निर्णय गरेको छ ।’

महासचिव पोखरेलले एमालेका अर्थमन्त्री भएका बेला राजश्व वृद्धि र अर्थतन्त्रमा व्यापक सुधार हुने गरेको बताए । ‘जब एमालेको सरकार हुन्छ र अर्थमन्त्री पनि एमालेका हुन्छन् तब राजश्व वृद्धि र अर्थतन्त्रमा सुधार हुने गरेको छ ’ महासचिव पोखरेलले भने, ‘अन्य पार्टीका अर्थमन्त्री भएका बेला र हाम्रो पार्टीका अर्थमन्त्री भएका बेलाको अवस्था तपाईंहरुले पनि तुलना गर्नसक्नुहुन्छ ।’

बैठकमा प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले एक साताभित्र विभागले विधान महाधिवेशनको प्रचारका लागि विस्तृत कार्ययोजना बनाएर पार्टी केन्द्रीय कार्यालयमा बुझाउने बताए । उनले केही दिन अघिको केन्द्रीय कार्यलय बैठकले विभिन्न नेताहरुलाई महाधिवेशनको तयारीका सन्दर्भमा नेताहरुलाई दिएको जिम्मेवारीका बारेमा जानकारी गराए । 

प्रकाशित: २० श्रावण २०८२ २०:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App