नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिले सक्रिय राजनीतिमा फर्कन संवैधानिक रूपमा कुनै बाधा नपर्ने बताएका छन्।
पूर्वराष्ट्रपतिले चाहेमा कुनै दलको सदस्यता लिन मात्र नभई स्थानीय तहको प्रमुख (मेयर) पदमा समेत उठ्न मिल्ने उनले तर्क गरे।
विराटनगर विमानस्थलमा बुधबार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमालेमा पुनरागमनको चर्चा चलिरहेका बेला यस्तो धारणा राखेका हुन्।
उनले भने- ‘पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा मात्रै हैन, पालिकाको मेयरमा पनि उठ्न मिल्छ। राष्ट्रपति वा उपराष्ट्रपति पार्टीले निर्णय गरेर पठाउने हो। त्यसैले उहाँहरूको कार्यकाल सकिएपछि पार्टीमा फिर्ता हुन कुनै समस्या हुँदैन।’
यो अन्तर्राष्ट्रिय अभ्यासमा पनि रहेको दाबी गर्दै विश्वका विभिन्न मुलुकमा राष्ट्रपति, प्रधानमन्त्री र मेयरजस्ता पदमा रहेका व्यक्तिहरू पुनः सक्रिय राजनीतिमा फर्कने गरेको उनले उदाहरण दिए।
दाहालले आफ्नो पार्टीले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई पार्टीमा फर्काएर यसको ढोका खोलिदिएको दाबीसमेत गरे।
प्रसङ्गबस उनले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीकै सहमति रहेको खुलासा गरे
‘केपी ओलीकै सहमतिमा भण्डारीको पार्टीको सदस्यता नवीकरण गरिएको हो,’ दाहालले भने, ‘विद्या भण्डारीलाई अध्यक्ष बनाउने कुरा पनि पहिले चलेको थियो, तर चीन भ्रमणपछि के भयो थाहा छैन।’
फरक प्रसङ्गमा, अध्यक्ष दाहालले वर्तमान सत्ता गठबन्धनले संविधानको मर्मअनुसार ऐन-कानुन बनाउन अरुचि देखाएको आरोप लगाए।
नेता जनार्दन शर्माको विवादास्पद अभिव्यक्तिका बारेमा भने उनले एक व्यक्तिको भनाइले पार्टीको आन्दोलन र इतिहास नरोकिने बताउँदै पदाधिकारी बैठकमा समीक्षा गरिने जानकारी दिए।
प्रकाशित: १२ भाद्र २०८२ १०:५३ बिहीबार





