८ आश्विन २०८३ बिहीबार
image/svg+xml
राजनीति

११ वर्षपछि एमालेको सक्रिय राजनीतिमा विद्यादेवीको ‘कमब्याक’

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ११ वर्षपछि नेकपा एमालेको सक्रिय पार्टी राजनीतिमा फर्किएकी छन्।

एमालेको बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने सचिवालयको प्रस्ताव अनुमोदन गरेसँगै उनी औपचारिक रूपमा पार्टीको नेतृत्व संरचनामा फर्किएकी हुन्।

राष्ट्रपति निर्वाचित भएपछि २०७२ सालमा पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भएकी भण्डारीलाई एमालेले यसपटक वरिष्ठ नेताको जिम्मेवारी दिएको हो।

बिहीबार बसेको सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने प्रस्ताव गरेको थियो। उक्त प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गरेको एमाले सचिव पद्मा अर्यालले जानकारी दिइन्।

भण्डारी २०७२ कात्तिकमा पहिलोपटक राष्ट्रपति निर्वाचित भएकी थिइन्। २०७४ मा दोस्रो कार्यकालका लागि पुनः राष्ट्रपति बनेकी उनी २०७९ फागुन २५ गते रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि पूर्वराष्ट्रपतिको हैसियतमा पुगेकी थिइन्।

राष्ट्रपति पदबाट बाहिरिएपछि भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्किने संकेत गर्दै पार्टी सदस्यता नवीकरणको विषय उठाउँदै आएकी थिइन्।

उनको पार्टी सदस्यता नवीकरण र पुनः सक्रिय राजनीतिमा फर्किने विषयलाई लिएर एमालेभित्र लामो समय बहससमेत भएको थियो। गत जेठमा एमाले सचिवालय बैठकले यसअघिको निर्णय उल्ट्याउँदै भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गरेको थियो।

सदस्यता नवीकरणको निर्णयपछि उनलाई सामान्य सदस्यको भूमिकामा नराखी वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय एमालेले गरेको हो।

एमालेको विधानमा भने हाल ‘वरिष्ठ नेता’ पदको व्यवस्था छैन। सचिवालयको प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गरेसँगै भण्डारीले उक्त भूमिकामा काम गर्ने र आगामी विधान महाधिवेशनमार्फत वरिष्ठ नेताको पदलाई विधानमा समेट्ने तयारी रहेको छ।

भण्डारी राष्ट्रपति बन्नुअघि एमालेकी उपाध्यक्ष थिइन्। अनेरास्ववियुको राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेकी उनले एमालेका विभिन्न सांगठनिक जिम्मेवारी सम्हाल्दै विज्ञान तथा प्रविधिमन्त्री, जनसंख्यामन्त्री र रक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालेकी थिइन्। त्यसपछि एमाले उपाध्यक्ष हुँदै उनी राष्ट्रपति बनेकी थिइन्।

भण्डारीले आफू ३५ वर्ष एमालेको सदस्य रहेको र राष्ट्रपतिको जिम्मेवारीमा पुगेपछि पार्टीको सक्रिय जिम्मेवारीबाट मात्र अलग भएको बताउँदै आएकी थिइन्। सदस्यता नवीकरण नभएको अवधिमा पनि आफूले पार्टी नत्यागेको उनको भनाइ थियो।

भण्डारीको पुनरागमनसँगै एमालेभित्र आगामी नेतृत्व, शक्ति सन्तुलन र संगठनात्मक संरचनाबारे बहससमेत बढेको छ। एमालेको पछिल्लो महाधिवेशनमा ईश्वर पोखरेलले अध्यक्ष पदका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका थिए। पोखरेललाई भण्डारीनिकट नेताका रूपमा प्रस्तुत गरिँदै आएको छ।

भण्डारीले विगतमा एमाले अध्यक्ष बन्ने सम्भावना रहेको प्रसंगसमेत सार्वजनिक भएको थियो। तर अहिले उनलाई वरिष्ठ नेता बनाउने निर्णयले आगामी पार्टी अध्यक्षका रूपमा उनको दाबेदारी वा नेतृत्वसम्बन्धी कुनै औपचारिक निर्णय गरेको छैन।

यसैबीच एमालेले केन्द्रीय कमिटी बैठकका निर्णयलाई गम्भीरतापूर्वक बोध गर्दै निष्ठापूर्वक कार्यान्वयन गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ।

बैठकपछि महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा केन्द्रीय कमिटी बैठकले पार्टीको आन्तरिक एकतालाई सुदृढ गरेको उल्लेख छ। बैठकमा विगतका कमीहरूको समीक्षा गर्दै आगामी दिनमा त्यस्ता कमजोरी नदोहोर्‍याउने प्रतिबद्धता गरिएको विज्ञप्तिमा जनाइएको छ।

‘बैठकले पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्न र पार्टी पुनर्जागरण एवं सुदृढीकरणका ठोस योजना निर्माण गर्ने सम्बन्धमा अत्यन्त महत्त्वपूर्ण रह्यो,’ विज्ञप्तिमा भनिएको छ, ‘बैठकमा हामीले विगतमा रहेका कमीहरूको गम्भीर समीक्षा गरेका छौं, तिनलाई सच्याउँदै आगामी दिनमा नदोहोर्‍याउने प्रण गरेका छौं।’

एमालेले बैठकबाट सुधार तथा रूपान्तरणको मार्गचित्रसमेत तयार गरेको जनाएको छ। बैठकका क्रममा देखा परेका असमझदारी र ‘अस्वस्थता’ अन्त्य भएको तथा पार्टी भावनात्मक रूपमा थप एकजुट भएको महासचिव पोखरेलको विज्ञप्तिमा उल्लेख छ।

पार्टीले केन्द्रीय कमिटी बैठकको सन्देशलाई आत्मसात् गर्दै लोकतन्त्रको रक्षा र निर्वाचनको तयारीलाई प्रमुख कार्यभारका रूपमा लिएर अघि बढ्न नेता तथा कार्यकर्तालाई आह्वान गरेको छ।

प्रकाशित: ८ आश्विन २०८३ १७:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App