३१ श्रावण २०८३ आइतबार
image/svg+xml
राजनीति

विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह

फाइल तस्बिर

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा अविरल वर्षापछिको विपद्‍बाट प्रभावितको खोज, उद्धार, राहत तथा पुनःस्थापनालाई व्यवस्थित र समन्वयात्मक रूपमा अघि बढाउन सम्बद्ध सबैपक्षको ध्यानाकर्षण गराएकी छन्।

पूर्वराष्ट्रपति भण्डारीले शनिबार सामाजिक सञ्जालमार्फत जोखिममा रहेका बस्ती तथा परिवारको पहिचान गरी आवश्यकताअनुसार सुरक्षित स्थानमा स्थानान्तरण गर्न र विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनालाई प्राथमिकता दिन आग्रह गरेकी हुन्।

उनले हालैका दिनमा रोल्पा, बाजुरा, जाजरकोट, कास्की, पर्वतलगायत जिल्लामा अविरल वर्षासँगै आएको बाढी, पहिरो तथा डुबानका कारण ठूलो जनधनको क्षति भएकामा दुःख व्यक्त गरिन्। उनले मृतकप्रति श्रद्धाञ्जली, परिवारजनमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।

बाढी, पहिरो, डुबान तथा नदी कटानको जोखिम कायमै रहेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले बदलिँदो जलवायु र मौसमजन्य जोखिमलाई ध्यानमा राखी पूर्वतयारी र जोखिम न्यूनीकरणका उपायलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्। 

मौसम तथा विपद्सम्बन्धी सूचना र पूर्वसूचनाप्रति चनाखो रहन, जोखिमयुक्त स्थानमा अनावश्यक आवतजावत नगर्न, नदी तथा खोलानालाको किनारबाट टाढा रहन र सम्भावित जोखिमबाट आफू, आफ्नो परिवार तथा समुदायलाई सुरक्षित राख्न आवश्यक पूर्वतयारी गर्न उनले आमनागरिकमा आह्वान गरेकी छन्।

'प्राकृतिक विपद् पूर्णतः रोक्न नसकिए पनि समयमै गरिएको पूर्वतयारी, सही सूचना, सतर्कता र प्रभावकारी उद्धार तथा राहत व्यवस्थापनबाट यसको मानवीय क्षति धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ। यसका लागि सरकार, स्थानीय तह, सुरक्षा निकाय, नागरिक समाज र आमनागरिक सबैको सहकार्य आवश्यक छ,' पूर्वराष्ट्रपतिले भनेकी छन्।

प्रकाशित: ३१ श्रावण २०८३ ११:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App