२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

रेसमलाई नाउपाका पूर्व नेताको सुझाव: शत्रु तपाईँ पतिपत्नीकै वरिपरि छन्

रेसमले भने–मैले बुझिसके, रञ्जिताले बुझे राम्रो

रेसम चौधरी दम्पतीको टकराबले नागरिक उन्मुक्ति पार्टी(नाउपा) अहिले संकटमा छ। पार्टीका संरक्षकसमेत रहेका रेसम र पार्टी अध्यक्ष रेसम पत्नी रञ्जिता श्रेष्ठबिचको द्वन्द्व सजिलै मिल्न नसक्ने अवस्थामा पुगेको पार्टीका सदस्यहरू बताइरहेका छन्। 

पछिल्लो समय रेसमले रञ्जितालाई पार्टी अध्यक्षबाट बर्खास्त गरी बुबा लालवीर चौधरीलाई अध्यक्ष बनाएका थिए। उक्त निर्णयलाई आधिकारिकता दिन निर्वाचन आयोगले इन्कार गरिदियो। 

त्यसपछि केही दिनअघि रञ्जिताले पार्टीको केन्द्रीय समिति बैठक बोलाउँदा रेसम आक्रोशित बनेका थिए। उनले केही सञ्चारमाध्यमसँग कुरा गर्दै आफूलाई जानकारी नै नदिई बैठक डाँकिएको भन्दै रञ्जितासँगका सबै सम्बन्ध सकिएको घोषणा नै गर्न भ्याएका थिए। 

यसैबिच बुधबार नाउपाकै पूर्व नेता लाक्पा तामाङले लेखेका दुई फेसबुक अभिव्यक्तिले नाउपामा फेरि तरंग ल्याएको छ। 

तामाङले पहिलो स्टाटसमा रेसमलाई नै ट्याग गरेर सुझाव दिएका छन्। ‘हिजो म पार्टीमा हुँदा रेसमलाई मुद्दा हाल्नुपर्छ, अध्यक्ष बन्नै दिनु हुँदैन। रन्जितालाई पार्टीबाट खेदाएर पार्टी कब्जा गर्नुपर्छ भन्दै मलाई घण्टौँ फोन गर्ने, विरोध गर्नेहरू, षड्यन्त्र गर्नेहरू, आज रेसम र रञ्जितासँगै मुसुक्क हाँस्दै वरिपरि घुमेको, फोटो खिचाएको देख्छु,’ तामाङले लेखेका छन्, ‘हुन त मलाई अब त्यो पार्टीसँग कुनै लेना न देना। तर म पछाडिबाट छुरा रोप्दिनँ, खरो र सिधा बोल्ने चित्त नबुझे आमनेसामने लड्ने लाक्पा तामाङ तपाईँको शत्रु होइन है।’ 

‘तपाईँको शत्रु तपाईँ र तपाईँकै श्रीमतीको वरिपरि काल भएर घुमिरहेका छन्। सानो मौका पाउन बित्तिकै डस्न सक्छन्। होसियार रहनू’ भन्दै उनले रेसमलाई सुझाव दिएका छन्। 

तामाङको यो अभिव्यक्तिलाई सेयर गर्दै रेसमले ‘घण्टौँ फोन गर्ने मित्रको नाम सार्वजनिक गर्न पाए हुन्थ्यो। हुन त मैले बुझिसकेँ,रञ्जिताले बुझे राम्रो,’ भन्दै प्रतिक्रिया दिएका छन्। 

फेरि तामाङले अर्को स्टाटसमा ‘यति भन्छु–तपाईँ दाजु भाउजू यसरी नै झगडा गरिरहनुहोस्, तपाईँहरूले दुःख गरेर खोलेको पार्टी चाँडै अर्कैको हातमा जाँदै छ’ भनेर ४ बुँदामा ‘षड्यन्त्रहरू’ भन्दै उल्लेख गरेका छन्। 

जसमा पहिलो षडयन्त्र–श्रीमान् र श्रीमतीलाई कुनै पनि हालतमा मिल्न नदिने, दोस्रो–रेसम चौधरीलाई कुनै पनि हालतमा अध्यक्ष बन्न नदिने, सकेसम्म फेरि जेल हाल्ने, तेस्रो–अनेक षडयन्त्र रची रञ्जिता श्रेष्ठलाई कमजोर पार्ने, अध्यक्षबाट हटाउने र चौथो षडयन्त्रमा–अन्ततः पार्टी कब्जा गर्ने भनेर उल्लेख गरेका छन्। 

‘पार्टीमा रहँदा यो षडयन्त्रमा मलाईसमेत सामेल गर्न खोजिएको थियो,’ तामाङले लेखेका छन्, ‘तर मैले मानिन बरु पार्टीबाटै राजीनामा दिएँ, किनभने लाक्पा तामाङले कसैलाई पछाडिबाट छुरा रोप्न जान्दैन ।’ 

तामाङको पछिल्लो स्टाटसलाई पनि सेयर गर्दै रेसमले ‘म सँग हरेक कुराको रेकर्ड छ । सयौँ रेकर्ड छन्’ भनेका छन्।

तर, यस विषयमा अध्यक्ष रञ्जिताले भने हालसम्म कुनै प्रतिक्रिया जनाएकी छैनन्। 

प्रकाशित: १८ भाद्र २०८२ १६:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App