२० वैशाख २०८३ आइतबार
image/svg+xml
राजनीति

कम्प्युटर शिक्षा लागू नगरेको भन्दै पूर्वशिक्षामन्त्री पुन आक्रोशित

फाइल तस्बिर

पूर्वशिक्षामन्त्री एवं स्वतन्त्र सांसद महावीर पुनले माध्यमिक विद्यालयमा अनिवार्य कम्प्युटर विषय पढाउने आफ्नो निर्णय कार्यान्वयन नभएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस विषयमा सम्बन्धित निकायका पदाधिकारीहरूलाई शिक्षा समितिमा बोलाएर केरकार गर्ने चेतावनी दिएका हुन्।

आफू मन्त्री हुँदा हरेक माध्यमिक विद्यालयमा १०० पूर्णाङ्कको अनिवार्य कम्प्युटर विषय पढाउने गरी राष्ट्रिय पाठ्यक्रम प्रारूपको ढाँचा तयार गर्न र पाठ्यपुस्तक विकास गर्न दिएको निर्देशन पालना नभएको उनले बताए।

उनले लेखेका छन्, ‘अब यिनीहरूलाई शिक्षा समितिमा बोलाएर केरकार गरिन्छ- यही शैक्षिक सत्र देखी हरेक माध्यमिक विद्यालयमा १०० पूर्णाङ्कको अनिवार्य कम्प्युटर विषय पढाउने भनेर मैले मन्त्री हुँदा राष्ट्रिय पाठ्यक्रम प्रारूपलाई तत्कालै ढाँचा तयार गर्न, पाठ्यक्रम विकास केन्द्रलाई पाठ्य पुस्तक विकास गर्न, शिक्षा आयोगलाई कम्प्युटर शिक्षकको लाइसेन्सको जाँच लिन र अर्थमन्त्रालय मै गएर अर्थ मन्त्री र सचिव सँगै बसेर शिक्षक दरवन्दीको व्यवस्था गर्न गरेको निर्णय र आदेश पटक्कै पालना गरेनछन्।’

पुनले आफू मन्त्री पदमा रहँदा ती कामहरू सुरु भइसकेकाले कार्यान्वयन भयो होला भन्ने ठानेको तर अहिले बुझ्दा केही पनि प्रगति नभएको पाएको उल्लेख गरे।

‘उति बेला काम सुरु गरि सकेका थिए। त्यसैले मैले त काम भयो होला भन्ठानेको थिएँ तर केहि भएको रहेनछ,’ उनले अगाडि भनेका छन्। पुनले आफ्नो माग पुरा गर्न आफू लागिपरेको समेत जानकारी गराएका छन्।

प्रकाशित: १५ वैशाख २०८३ १३:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App