प्रतिनिधिसभा निर्वाचनका मौन अवधिमा रकमसहित प्रहरीले नियन्त्रणमा लिएका जनता समाजवादी पार्टी नेपाल (जसपा) सिराहा– ३ का उम्मेदवार अशेश्वर यादवसहित ५ जना नियन्त्रणमुक्त भएका छन् । ३ दिनभित्र स्पष्टीकरण बुझाउन भन्दै उनीहरूलाई बुधबार नै छाडिएको छ ।
निर्वाचनको मौन अवधिमा आचारसंहिता विपरीत रकमसहित पक्राउ परेका यादवलाई ३ दिनभित्र स्पष्टीकरण बुझाउन निर्वाचन अधिकृतको कार्यालय सिराहाले निर्देशन दिएको हो । सिराहाका मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीले सम्पूर्ण कागजातहरूको अध्ययन पश्चात ३ दिनभित्र स्पष्टीकरण बुझाउने समय सीमा दिइएको बताए ।
उनले भने– ‘हामीले सम्पूर्ण कागजातहरू अध्ययन गर्यौँ, तत्काललाई ३ दिनभित्र स्पष्टीकरण बुझाउने मौका दिएका छौँ। उहाँहरूले बुझाएको स्पष्टीकरण र प्रमाणहरूको आधारमा थप प्रक्रिया अगाडी बढ्छ।’
उनले पक्राउ परेका ५ जनालाई तत्काल छोडिएको जानकारी दिए । बरामद रकम र गाडीसहितका सामाग्री तत्काललाई सिज गरिएको उप्रेतीले जानकारी दिए । उनले अहिले अनुसन्धान जारी रहेको र निर्वाचन कानुनअनुसार कारबाही हुने समेत बताए ।
प्रहरीले गएराति मौन अवधिका बेला नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत माडरबाट ४ लाख ८७ हजार रुपैयाँसहित यादवलाई नियन्त्रणमा लिएको थियो । माडरबाट सिराहा सदरमुकामतर्फ आउँदै गरेको प्र।२–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीमा संयुक्त चेकजाँच गर्ने क्रममा उक्त रकमसहित यादवसहितका व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रकाशित: २० फाल्गुन २०८२ १८:५९ बुधबार





