मधेस प्रदेशमा नयाँ सरकार गठनको लागि नेपाली कांग्रेस र नेकपा एमाले बाहेकका पाँच दलबिच सहमति भएको छ। जसपा, लोसपा, जनमत, माओवादी केन्द्र, एकीकृत समाजवादी सहितका दलबिच नयाँ सरकार गठनका लागि सहमति बनेको हो।
पाँचै दल बहुमत सहित नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष दावी पेस गर्न गइरहेको जसपा नेपालका प्रमुख सचेतक राम अशिष यादवले बताए। जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा नेपाल र एकीकृत समाजवादी दलबिच भएको छलफलबाट लोसपाबाट प्रदेश सांसद जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने गरी सहमति भएको जसपाका प्रमुख सचेतक यादवले बताए।
नेपाली कांग्रेस र एमालेको समीकरणबाट जनमतलाई निकाल्न मंगलबार दिउँसोदेखि नै जनकपुरधाममा चरणबद्ध बैठक जारी थियो। छलफलमा केही बेर लोसपाका अध्यक्ष महन्थ ठाकुर समेत सहभागी भएका थिए। बैठकमा कांग्रेस र एमाले बाहेकको विकल्पको सरकार बनाउने गरी घनिभूत छलफल भएको एक नेताले बताए।
१०७ सदस्यीय प्रदेशसभा सरकार बनाउन ५४ सिट आवश्यक छ। जसपा नेपालको १९, जनमतका १३, नेकपा माओवादी केन्द्र र लोसपाका ९–९, नेकपा एकीकृत समाजवादीको ७ सिट छ। यस आधारमा पाँच दल मिलाएर ५७ सिट पुग्छ। जसमध्ये लोसपाका एक जना सांसद निलम्बित छन्। जस अनुसार यी पाँच दलीय समीकरणको ५६ सिट पुग्छ। जुन सरकार बनाउन सहज बहुमत हो।
यता, कांग्रेसका मधेस प्रदेश संसदीय दलका नेता कृष्णा यादवको नेतृत्वमा सरकार बनाउन गत असोज २२ गते यी तीन दलका नेताले ५८ प्रदेश सांसदको समर्थनमा प्रदेश प्रमुख समक्ष दावी पेश गरेको थियो। प्रदेश प्रमुखले आह्वान नगरेको र मुख्यमन्त्री सतीश सिंहले ३० दिनभित्र विश्वासको मत लिने समय रहेकै कारण त्यो दावी असंवैधानिक बन्न पुगेको थियो।
मधेस प्रदेश सभामा एमालेको २५, कांग्रेसको २२ सिट, नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादी पार्टीको १–१ सिट छ।
प्रकाशित: २९ आश्विन २०८२ १०:१४ बुधबार





