गृह मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ मा हालसम्मकै सबैभन्दा बढी बेरुजु फर्स्योट गरेको छ।
मन्त्रालयले एकै वर्षमा २ अर्ब ३६ करोड १२ लाख ६३ हजार रुपैयाँ बेरुजु फर्स्योट गरी वित्तीय सुशासनमा उल्लेखनीय प्रगति हासिल गरेको हो।
मन्त्रालयका अनुसार, अघिल्लो आर्थिक वर्षसम्म कुल ३ अर्ब ७२ करोड ४५ लाख ८७ हजार रुपैयाँ बेरुजु बाँकी रहेकोमा गत आर्थिक वर्षमा ६३.१७ प्रतिशत रकम फर्स्योट गरिएको हो। अब मन्त्रालयको कुल बेरुजु १ अर्ब ४७ करोड ४५ लाख रुपैयाँमा झरेको छ।
गृह मन्त्रालयको आर्थिक प्रशासन शाखाका प्रमुख, उपसचिव खड्गानन्द अधिकारीले गृहमन्त्री रमेश लेखकको निर्देशन, गृहसचिवको समन्वय तथा मातहतका निकायहरूको सक्रियताले यो सफलता प्राप्त भएको बताए। ‘कार्ययोजना बनाएरै मन्त्रालय बेरुजु फर्स्योटमा लागेको हो,’ उनले भने।
उनका अनुसार, मन्त्रालयको सक्रियताले लेखापरीक्षण अंकको आधारमा देखिने नयाँ बेरुजु दर समेत घटेको छ। आर्थिक वर्ष २०७८/७९ मा १.४१ प्रतिशत रहेको बेरुजु दर आर्थिक वर्ष २०८१/८२ मा ०.०९ प्रतिशतमा झरेको छ।
मन्त्रालयले बेरुजु फर्स्योटलाई प्रभावकारी बनाउन आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा समिति गठन गरी नियमित समीक्षा र ताकेता गर्दै आएको छ।
प्रकाशित: ३ भाद्र २०८२ १६:१० मंगलबार





-600x400.jpg)