१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
राजनीति

अर्थमन्त्री वाग्लेले आज बजेट पेस गर्दै, संसद् सचिवालयको तयारी पूरा

संघीय संसद् सचिवालयले आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस हुने शुक्रबारको संयुक्त बैठकको सम्पूर्ण तयारी पूरा गरेको छ। 

सिंहदरबारस्थित नयाँ र निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा शुक्रबार दिउँसो ४ बजे संयुक्त बैठक बस्ने तय भएको छ। सोही बैठकमा प्रतिनिधिसभा निर्वाचनपछिको नयाँ सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट पेस गर्नेछन्।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार नयाँ भवनको प्रतिनिधिसभा कक्षमा संयुक्त बैठक चलाउने तयारी भए पनि फिनिसिङ कार्य पूरा नभएकाले हाल प्रतिनिधिसभा बैठक सञ्चालन भइरहेको बहुउद्देश्यीय हलबाटै बजेट प्रस्तुत हुन लागेको हो। उनले स्थानाभावका कारण यसपटक बजेट प्रस्तुति हुने संयुक्त बैठकमा संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकारका उच्चाधिकारी र नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरूलाई आमन्त्रण नगरिएको स्पष्ट पारे। संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई निर्धारित समय अगावै स्थान ग्रहण गर्न सूचित गरिसकेको छ।

नयाँ संविधान जारी भएपछि हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसकै दिन बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्थाअनुसार यो कार्यक्रम तय भएको हो। गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झण्डै दुई तिहाइ जनमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकारले यो बजेट प्रस्तुत गर्न लागेको हो।

निर्वाचनका क्रममा सो पार्टीले प्रस्तुत गरेको वाचापत्र, सरकार गठन भएपछि सार्वजनिक भएको शासकीय सुधारका १०० बुँदे कार्ययोजना र सदनमा प्रस्तुत विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका आधारमा बजेट आउने बताइएको छ। संसद्का दुवै सदनमा सांसदहरूले दिएको सुझाव र सरकारको सुशासनको मार्गचित्रलाई बजेटको केन्द्रमा राखिएको छ।

यसपटकको बजेटलाई बढी व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्य राखिएको छ। राष्ट्रिय योजना आयोगले आगामी आवका लागि १८ खर्ब ९० अर्ब रुपैयाँ बराबरको बजेट सिलिङ तय गरेको थियो। चालु आवको मूल बजेट १९ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको भए पनि गत भदौ २३ र २४ मा भएको आन्दोलनपछि गठन भएको सरकारका अर्थमन्त्री (तत्कालीन) रामेश्वर खनालले मध्यावधि समीक्षामार्फत बजेटको आकार घटाएर १६ खर्ब ८८ अर्ब रुपैयाँ बराबर बनाएका थिए।

प्रकाशित: १५ जेष्ठ २०८३ ०८:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App