अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार नयाँदिल्ली प्रस्थान गर्ने भएका छन्।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत भ्रमण स्वीकृत गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारी सम्मिलित ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली जान लागेका डा. वाग्लेले बिहीबार साँझ ५ बजे भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।
त्यस्तै, शुक्रबार भारतीय विदेशमन्त्री डा. एस जयशङ्करसँग भेटवार्ता गर्ने तय भएको छ।
यो भ्रमण विशेषगरी विपद्पछिको पुनर्निर्माण तथा नेपाल-भारतबीचको आर्थिक, राजनीतिक र कूटनीतिक आयामहरूमा साझेदारी विस्तार गर्न केन्द्रित रहने अर्थ मन्त्रालयले जनाएको छ।
भ्रमण तालिकाअनुसार शुक्रबार नै अर्थमन्त्री डा. वाग्ले भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवादमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।
सोही दिन उनी भारत व्यापार सम्वर्द्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा समेत सहभागी हुनेछन्।
शनिबार बिहान भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने त्यहाँका प्रतिष्ठित औद्योगिक घरानाहरूको सम्मेलनलाई अर्थमन्त्रीले प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नेछन्।
यस्तै, शनिबार दिउँसो दिल्ली स्कुल अफ इकोनोमिक्सद्वारा आयोजित विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा विचार राखेर अर्थमन्त्री डा. वाग्ले शनिबार साँझ नै स्वदेश फर्कने कार्यक्रम रहेको छ।
प्रकाशित: ३१ भाद्र २०८३ २१:५१ बुधबार


-600x400.jpg)


