नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुनाव हार्ने निश्चित भएपछि केही समूहले एमालेको झण्डा जलाउने र कार्यकर्तामाथि आक्रमण गर्ने जस्ता अराजक गतिविधि सुरु गरेको आरोप लगाएका छन्।
झापा क्षेत्र नम्बर-५ म मतदातासँगको भेटघाटका क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
ओलीले आधारहीन रूपमा उदाएको एक राजनीतिक समूहले पराजय निश्चित देखेपछि अन्य दलका झण्डा जलाउने, अपमान गर्ने र चुनावी वातावरण बिथोल्ने प्रयास सुरु गरेको बताए।
‘पहिले मनोनयनकै दिनबाटै अवाञ्छित गतिविधि सुरु भयो। हाम्रा कार्यकर्तामाथि हमला गर्ने, पिटोल्न खोज्ने र निहुँ खोज्ने काम गरियो,’ उनले भने, ‘हामीले शान्तिपूर्ण रूपमा प्रतिवाद गर्यौँ। अब चुनाव जितिँदैन भन्ने भएपछि झण्डा जलाउने र अपमान गर्ने जस्ता उपद्रव सुरु भएका छन्।’ उनले भने।
ओलीले झण्डा पार्टीको आदर्श, आस्था, विचार र बलिदानको प्रतीक भएकाले त्यसको अपमान गर्नु गम्भीर अपराध भएको समेत बताए।
निर्वाचनको समयमा यस्ता गतिविधि गर्नु निर्वाचन विरोधी काम भएको उनको भनाई छ। ‘झण्डाको अपमान गर्नु सामान्य कुरा होइन, यो निर्वाचन बिथोल्ने प्रयास हो। यस्ता गतिविधिको हामी विरोध गर्छौँ।’
निर्वाचन नहुने भन्ने हल्लालाई अस्वीकार गर्दै उनले देशले अर्बौँ रुपैयाँ खर्च गरिसकेको, उम्मेदवारहरूले तयारी गरिसकेको र करिब डेढ लाख म्यादी प्रहरी भर्ना गरी तालिमसमेत दिइसकेको भन्दै निर्वाचन हुनेमा विश्वास रहेको बताए।
प्रकाशित: १० फाल्गुन २०८२ १७:३७ आइतबार





