नेकपा (एमाले) का सचिव महेश बस्नेतले वर्तमान सरकारले फरक विचार राख्ने दल र नेताहरूलाई दबाबमा राख्ने निरंकुश नीति लिएको दाबी गरेका छन्।
मंगलबार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सरकारको त्यस्तो प्रवृत्तिको सडकबाटै सशक्त प्रतिवाद हुने चेतावनी दिए।
सडकमा एमालेको आन्दोलन कमजोर देखिएको भन्ने सञ्चारकर्मीको प्रश्नमा बस्नेतले आन्दोलन भर्खरै सुरु भएको भन्दै शिवरात्रीको मुढाको उदाहरण दिए। ‘शिवरात्रीमा मुढा बाल्दा सुरुमा झिजा बल्छ, अनि मात्र मुढा बल्छ। अहिले झिजा बल्दैछ,’ उनले भने।
बस्नेतले हिजोसम्म भ्रातृ तथा शुभेच्छुक संगठनहरू मात्र सडकमा रहेको र हिजोदेखि पार्टी औपचारिक रूपमै आन्दोलनमा उत्रिएको बताएका छन्।
आफू सडकमा नदेखिएको र आन्दोलन गर्न डराएको हो कि भन्ने पत्रकारको प्रश्नको भने उनले खण्डन गरे। आफू सडककै मान्छे भएको र सधैं सडकमै रहने उनले बताएका छन्।
‘म एकदम सडकमा छु, सधैं सडककै मान्छे हुँ र सडकमै हुनेछु,’ बस्नेतले भने, ‘डर र महेश बस्नेतको भेट कहिल्यै पनि हुँदैन।’
प्रकाशित: १७ चैत्र २०८२ १६:३७ मंगलबार





