सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमण्डल पुनर्गठन भएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधानका लागि आफ्ना पुराना मन्त्रीहरू फिर्ता बोलाउँदै ५ जना नयाँ मन्त्री र राज्यमन्त्री नियुक्त गरेका हुन्।
मुख्यमन्त्री शाहले सोमबार तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्रीहरूमा विक्रम सिंह धामी (आर्थिक मामिला), बेलबहादुर राना (सामाजिक विकास) र मानबहादुर रावल (उद्योग, पर्यटन, वन तथा वातावरण) रहेका छन्।
यस्तै, जुना दानी आर्थिक मामिला राज्यमन्त्री र मधु भारती सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त भएका छन्।
नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख नजिर मियाँले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। राज्यमन्त्रीद्वय दानी र भारतीलाई भने मुख्यमन्त्री शाहले शपथ गराएका हुन्।
हस्ताक्षर अभियानको नेतृत्व गर्ने विष्ट पक्षका मानबहादुर रावल, बेलबहादुर राना मगर र जुनाकुमारी दानीले मन्त्रिमण्डलमा स्थान पाएका छन्। सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १८ सांसदमध्ये प्रकाश देउवा हाल अमेरिकामा रहेकाले १७ जना मात्रै सक्रिय छन्।
शाहले आफ्नै दलभित्रको असन्तुष्ट पक्षलाई सरकारमा सहभागी गराएर सत्ता जोगाउने प्रयास गरेका हुन्। यसैबीच, सत्तारुढ अर्को दल नेकपा एमालेमा पनि मन्त्री फेरबदलको तयारी भए पनि केन्द्रको हस्तक्षेपका कारण रोकिएको छ।
एमाले संसदीय दलले पुराना मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने सूची तयार गरिसकेको अवस्थामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले टेलिफोनमार्फत तत्काल मन्त्री नबदल्न निर्देशन दिएका थिए।
अध्यक्ष ओलीले संसदीय दलका नेता राजेन्द्र सिंह रावललाई फोन गरी मन्त्री फेरबदल नगर्न निर्देशन दिएपछि एमालेभित्र तीव्र असन्तुष्टि देखिएको छ।
मन्त्री फेरबदल रोकिएपछि आक्रोशित कार्यकर्ताले सुदूरपश्चिमस्थित एमाले संसदीय दलको कार्यालयमा तालाबन्दी गरेका छन्। उनीहरूले संसदीय दलका नेता रावलविरुद्ध नाराबाजी गर्दै कार्यालयमा रहेका नेम प्लेटसमेत उखेलेर फ्याँकिदिएका छन्।
मुख्यमन्त्री शाह पहिलो पटक २६ माघ २०७९ मा नियुक्त भएका थिए। तर, केन्द्रमा राजनीतिक समीकरण बदलिएपछि अल्पमतमा परेर उनले २० चैत २०८० मा राजीनामा दिएका थिए।
पछि, २०८१ साउन २० गते नेकपा एमालेको समर्थनमा उनी दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। आन्तरिक किचलोका कारण सुदूरपश्चिमको राजनीति पटक-पटक अस्थिर बन्दै आएको छ।
प्रकाशित: २५ जेष्ठ २०८३ २०:४५ सोमबार





