सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनले राष्ट्रिय समस्याको निरुपण गर्न सहयोग पुर्याउने बताएका छन्।
यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भए पश्चात् आज यहाँ धन्यवाद ज्ञापन गर्न आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले लोकतन्त्रको स्वस्थता र सवलताका लागि आवधिक निर्वाचन अपरिहार्य रहेको बताएका हुन्
जनताको इच्छा, चाहना र आवश्यकता अनुसार नयाँ नेतृत्व र नीतिहरुको निर्माण एवं परिवर्तन गर्न, समाजमा शान्ति तथा स्थिरता कायम राख्न आवधिक निर्वाचनको महत्वपूर्ण भूमिका रहेको उनले सुनाए।
लोकतन्त्रको संस्थागत विकास गर्न निर्वाचनको आवश्यकता रहेको औल्याउँदै मुख्यमन्त्री शाहले निर्वाचन लोकतन्त्रको मेरुदण्ड रहेको उल्लेख गरे।
सामाजिक न्याय, पारदर्शीता, राजनीतिक, प्रशासनिक एवं संस्थागत सुधार र सुशासनको तीव्रतापूर्ण माग उठान भएको वर्तमान परिवेशमा विविध समस्या, चुनौती तथा अभावबीच संविधानको रक्षा गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित, मर्यादित रुपमा सफलतापूर्वक सम्पन्न गर्न भूमिका खेलेकोमा उनले राष्ट्रपति र प्रधानमन्त्रीप्रति आभार व्यक्त गरे।
प्रकाशित: २६ फाल्गुन २०८२ १९:१९ मंगलबार





