नेपाली कांग्रेसका नेताहरू पार्टीको १५औं महाधिवेशन कहिले गर्ने भन्नेमा गुटगत आधारमा विभाजित देखिएका छन्। पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका केही नेताहरू मंसिरमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनको पक्षमा उभिएका छन्। उनीहरूसमेत समझदारीमा फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनपछि महाधिवेशन गर्ने तालिका ल्याउने पक्षमा छन्, तर उनीहरू त्यसका लागि तयार नहुँदा बिहीबारबाटै पुनः सुरु केन्द्रीय समिति सदस्यहरू गुटगत आधारमा प्रस्तुत हुन थालेका हुन्।
पार्टी सभापति शेरबहादुर देउवासँग नजिक रहेका नेताहरू पार्टीको सम्पूर्ण ध्यान अब फागुन २१ को निर्वाचनमा केन्द्रित गर्नुपर्ने पक्षमा उभिएका छन्। निर्वाचनलगत्तै महाधिवेशन गर्ने गरी जारी केन्द्रीय समितिको बैठकबाटै कार्यतालिका ल्याउनुपर्ने पक्षमा उभिएका छन्। नेता शेखर कोइराला पक्ष नेताहरू सकेसम्म फागुन २१ को निर्वाचनअघि नै पार्टी महाधिवेशनको पक्षमा छन्। उनीहरू छिटो र छोटो मार्गबाट महाधिवेशन गर्नुपर्ने पक्षमा छन्।
महाधिवेशनका लागि सबैभन्दा पेचिलो विषय क्रियाशील सदस्यता भएको जनाउँदै मंसिर/पुसभित्रै महाधिवेशन गर्ने गरी काम गर्नुपर्ने जनाउँदै आएका छन्। सदस्यताको विषय टुंगो लाग्यो र निर्वाचनको चापका कारण फागुन २१ अघि महाधिवेशन गराउन नसके त्यसपछि पनि गर्न सकिने पक्षमा छन्।
तर महामन्त्रीद्वय भने मंसिरमा नियमित महाधिवेशन सम्भव नरहेको जनाउँदै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू मागअनुसार विशेष महाधिवेशनको पक्षमा उभिएका छन्। झन्डै दुई साता स्थगित भएर सुरु भएको बैठकमा नेताहरू गुटगत अवधारणासहित प्रस्तुत भएका छन्। संस्थापन पक्ष आगामी वैशाख वा जेठमा १५औं महाधिवेशनको पक्षमा उभिएका छन्।
केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले सर्वसम्मतबाट नियमित महाधिवेशन मिति तोक्नुपर्ने धारणा राखेकी छन्। देश, शासन व्यवस्थाका साथै कांग्रेसका सामु संकट आएको जनाउँदै अहिलेको समयमा नियमित कि विशेष महाधिवेशन भनेर विवाद गर्नु उपयुक्त नभएको तर्क गरिन्। ‘सर्वसम्मत रूपमा नियमित महाधिवेशनको समय तोकेर अगाडि जानुप¥यो’, खतिवडालाई उद्धृत गर्दै सहभागी सदस्यले भने, ‘होइन, चुनावमा जाने हो भने त्यसपछि महाधिवेशन गर्नुपर्यो।’
बैठकमा केन्द्रीय सदस्य विद्या तिमिल्सिनाले जेनजी आन्दोलनका क्रममा आक्रमणमा परेका सभापतिको स्वास्थ्यलाभको कामनासमेत नगरिएकोमा आपत्ति जनाएकी छन्। कार्यसम्पादन समितिको बैठकमा बस्नुभयो, तर सभापतिलाई स्वास्थ्यलाभको कामना समेत किन गर्नुभएन भन्ने प्रश्न गर्दै उनले भनिन्, ‘हाम्रा भ्रातृ संघसंस्था र शुभेच्छुक संघ धेरै छन्, तर हाम्रा सभापति र हाम्रा नेताको संरक्षण गर्न किन सक्दैनन् त्यसको पनि खोजी र समीक्षा हुनुपर्छ।’
अर्का सदस्य राजन केसीले पनि भदौ २३ र २४ मा भएको आक्रमण र लुटपाटलाई शीर्ष नेताहरूको मूल्यांकनबारे जानकारी मागेका छन्। त्यसक्रममा कांग्रेस नेता तथा कार्यकर्ताका घर छानीछानी जलाइएको जनाउँदै उनले भने, ‘भोलि को सभापति हुने, को उपसभापति हुने, कसले पाउने भन्ने पछिका कुरा हुन् तर हिजोका दिनमा हामीले जनतालाई सन्तुष्ट पार्न सक्यौं? जनताले हाम्रो कसरी मूल्यांकन गरिरहेका रहेछन्? के हामीले शासन सञ्चालन राम्रो गरेका रहेछौं?’
सदस्य बहादुरसिंह लामाले कार्यतालिका नआउँदै नियमित कि विशेष महाधिवेशन भनेर विवाद गर्नु उपयुक्त नभएको तर्क गरे। मंसिरभित्र महाधिवेशन गर्ने गरी तालिका निकालौं अनि म्याद थप गर्ने नगर्ने भन्ने कुरा हुन्छ जनाउँदै उनले क्रियाशील सदस्यता नवीकरण र वितरण कार्य गर्न नसकेकोमा प्रश्न गरे।
सबै त्याग गर्न तयार भए मात्र पार्टीमा देखिएको विवाद समाधान हुने जनाउँदै उनले भने, ‘मिल्ने बाटोमा लागौं। चाँडोभन्दा चाँडो महाधिवेशन गरौं। यथास्थितिमा जाने हो भने चुनावमा कसैले टिकट लिँदैनन् ख्याल गरौं।’
बैठकमा बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका प्रदेश सभापति इन्द्रबहादुर बानियाँले नियमित महाधिवेशन गर्ने विषयमा कसैको पनि विवाद र विमति नरहेको तर्क गर्दै कार्यतालिकासहितको परिपक्व निर्णय गर्नुपर्नेमा जोड दिए।
महाधिवेशन मिति तोक्दै जाने तर पछि कार्यान्वयन नहुने अवस्थाले पार्टीलाई थप कमजोर बनाउने उनले तर्क गरे। निर्वाचनलाई केन्द्रमा राखेर महाधिवेशनका विषयमा निर्णय लिनुपर्ने उनले तर्क गरे। विशेष महाधिवेशनको बहस भइरहेको छ।
प्रस्ताव दर्ता भएको तीन महिनामा गर्नुपर्ने विशेष महाधिवेशन पनि मंसिरभित्र हुने अवस्था देख्दिनँ। क्रियाशील सदस्यताको प्रगति हेर्दा नियमित महाधिवेशन त झन् सम्भव नै छैन’, उनलाई उद्धृत गर्दै सहभागी नेताले भने, ‘हामी विन–विन सिचुएसनमा जाने अवस्था बनाउनुपर्छ।’
बैठकमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका दुई हजार चार सय ८८ जना महाधिवेशन प्रतिनिधि केही पनि होइनन् भन्ने ढंगले व्यवहार गरे त्यसले पार्टीलाई ठुलो क्षति पुग्ने तर्क गरेका छन्। विधानको धारा १२ को २ अनुसार विशेष महाधिवेशन माग गरेका जनाउँदै उनले भने, ‘विधानअनुसार हस्ताक्षर गर्नेहरू पार्टी फुटाउने अरू जुटाउने भन्ने ढंगको व्याख्या गलत छ।’
बिहीबारको बैठकमा महामन्त्री थापा सहभागि नै थिएनन् भने केन्द्रीय सदस्यहरू मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, रमा कोइराला, टेकप्रसाद गुरुङ, रंगमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, शान्ति परियार विक, आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुलीले आआफ्ना धारणा राखेका छन्। बैठक शुक्रबार एक बजे पुनः बस्ने छ।
प्रकाशित: १४ कार्तिक २०८२ ०९:१० शुक्रबार



-600x400.jpg)

