सामाजिक सञ्जाल फेसबुकको मातृ कम्पनी मेटाले नेपाललाई ‘मोनिटाइजेसन’ अर्थात् मुद्रीकरणका लागि योग्य देशको सूचीमा राखेपछि यसलाई लिएर राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।
नेकपा एमालेका नेता महेश बस्नेतले यो उपलब्धिलाई सरकारको सफलताको रूपमा व्याख्या गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई धन्यवाद दिएका छन्।
मंगलबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै नेता बस्नेतले मेटाको यो निर्णयलाई ‘गेम चेन्जर मोमेन्ट’ को संज्ञा दिए।
उनले अब नेपाली कन्टेन्ट क्रिएटरहरूले कानुनी रूपमै नेपालमा बसेर आम्दानी गर्न सक्ने, भिपिएन प्रयोग गर्नुपर्ने बाध्यता हट्ने र सिधै नेपाली बैंक खातामा रकम प्राप्त गर्न सकिने उल्लेख गरेका छन्।
बस्नेतले फेसबुकमा लेखेका छन्, ‘धन्यवाद नेपाल सरकार र सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङलाई। Meta (Facebook) ले अब नेपाललाई आधिकारिक रूपमा Monetization Eligible Country मा राखेको छ।’ उनले यसले युवाहरूको सिर्जनशीलतालाई प्रत्यक्ष रोजगारी र उद्यमशीलतामा बदल्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।
यता, सरकारले मेटा लगायतका सामाजिक सञ्जाल कम्पनीहरूलाई नेपालमा दर्ता हुनका लागि दिएको समयसीमा यही बिहीबार सकिँदैछ। सो समय अवधिभित्र दर्ता हुन नआए बन्द गर्न चेतावनी समेत दिएको छ।
प्रकाशित: १७ भाद्र २०८२ १८:१३ मंगलबार





