२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक, निर्वाचनमा सहकार्य

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा सम्पन्न भएको छ। देशभरबाट करिब ४ सय प्रतिनिधि सहभागी बैठकमा आगामी प्रतिनिधिसभा निर्वाचन, वर्तमान राजनीतिक अवस्था र पार्टीको आन्तरिक रुपान्तरणबारे छलफल गरिएको प्रवक्ता मनिष झाले जनाएका छन्।

बैठकमा कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति डा.स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, सह–महामन्त्री विपिनकुमार आचार्य र सचिवालय सदस्य दीपक बोहराले विभिन्न प्रतिवेदन पेस गरेका थिए। ती प्रतिवेदनमाथि समूहगत छलफल गरी सुझावहरू केन्द्रीय समितिमा पठाइने भएका छन्।

रास्वपाले उम्मेदवार हुनका लागि केही मापदण्ड पनि सार्वजनिक गरेको छ। जस अन्तर्गत २०७९ को प्रतिनिधि सभामा समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य बनेका पार्टी सदस्यहरूले २०८२ फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवारी दिन नपाउने व्यवस्था पनि गरेको जनाइएको छ।

बैठकले फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सरकारलाई आग्रह गरेको छ। विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन पनि ध्यानाकर्षण गराइएको छ। रास्वपाले उम्मेदवार छनोटदेखि प्रचारसम्मका सबै प्रक्रिया पारदर्शी बनाउने र युवाको सहभागिता बढाउने निर्णय गरेको छ। समानुपातिक उम्मेदवारको सूचीमा २५–४० वर्षका युवालाई २७ प्रतिशत र प्रवासी नेपालीलाई १० प्रतिशत स्थान दिने निर्णय गरिएको छ।

बैठकले फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने आधार तयार सरकारलाई सचेत गराउने, विचार मिल्नेसँग सहकार्य गर्नेसमेत बताएको छ।  

दलहरूसहित सम्बद्ध सरोकारवालासँगको संवादलाई घनिभूत बनाउन तथा सुरक्षालगायत प्राविधिक र बन्दोबस्तीका अन्य तयारीलाई मजबुद र प्रभावकारी बनाउन सरकारलाई थप गम्भीर हुन आग्रह गर्ने निर्णय विस्तारित बैठकले गरेको छ।

बैठकले सभापति रवि लामिछानेमाथि दायर मुद्दा राजनीतिक प्रतिशोधका कारण लगाइएको भन्दै निष्पक्ष छानबिनको माग पनि गरेको छ।

प्रकाशित: २३ कार्तिक २०८२ ०८:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App