प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउन सबै मतदातालाई फागुन २१ गते हुने निर्वाचनमा अनिवार्य सहभागी हुन आह्वान गरेकी छिन्।
सम्बोधनका क्रममा उनले निर्वाचनको संघारमा शान्ति र अमनचयन कायम राख्न सबैसँग आग्रह गरेकी छिन् । साथै चुनावमा स्वस्थ प्रतिस्पर्धा र फरक विचार स्वाभाविक भए पनि आपसी मनमुटाव र वैमनस्य हुन नहुने उनको भनाई छ।
आज राती १२ बजेदेखी मौन अवधि लागु हुने भएको कारण मौन अवधिमा पूर्ण अनुशासन पालना गर्न र प्रचारप्रसारका क्रममा संयमित तथा सम्मानजनक व्यवहार गर्न सबै दल, उम्मेदवार र समर्थकलाई आग्रह समेत गरेकी छिन्।
निर्वाचन तयारीबारे बोल्दै उनले निर्वाचन आयोगले छोटो समयमा तयारी पूरा गरेको बताउँदै निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न नेपाल सरकार र आयोग पूर्ण प्रतिबद्ध रहेको बताएकी छिन्।
सम्बोधनको अन्त्यमा उनले तथ्यहीन, कृत्रिम र भ्रामक सामग्रीप्रति सजग रहन आग्रह गर्दै त्यस्ता गतिविधिलाई सरकारले निगरानीमा गरेको र कानुनी दायरामा आउने बताइन्।
प्रकाशित: १८ फाल्गुन २०८२ १५:११ सोमबार


-600x400.jpg)


