३० चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

कांग्रेसको सिट घटे पनि विचार सान्दर्भिक छ, फेरि बलियो बनाउँछौं: सांसद थकाली

नेपाली कांग्रेसका युवा सांसद योगेश गौचन थकालीले संसद्‌मा पार्टीको सिट संख्या खुम्चिए पनि कांग्रेसको लोकतान्त्रिक विचार र नीति अझै सान्दर्भिक रहेको दाबी गरेका छन्।

नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा प्रधानसम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै उनले जनताका मुद्दालाई इमानदारीपूर्वक बोकेमा पार्टी फेरि बलियो हुने बताएका हुन्।

जनमत र सिट संख्याका आधारमा कांग्रेस कहिलेकाहीं कमजोर देखिए पनि यसको वैचारिक जग कहिल्यै नभत्किएको उनले सुनाए।

‘नेपाली कांग्रेस जनमत र सिट संख्याको हिसाबले कहिले खुम्चियो होला, तर कांग्रेसको लोकतान्त्रिक विचार र यसले अख्तियार गरेको समाजवाद उन्मुख अर्थतन्त्रको नीति आजसम्म पनि उत्तिकै सान्दर्भिक छ,’ थकालीले भने।

न्यायपूर्ण ढंगले जनताको काम गरेसम्म कांग्रेस हिजो, आज र भोलि कहिल्यै कमजोर नहुने उनले बताए।

देशमा पछिल्लो समय देखिएको जनआक्रोश कुनै दल विशेषप्रतिको मात्र नभई दशकौंदेखिको सुशासनको अभावको परिणाम भएको उनले बताए।

विगत ३०-३५ वर्षदेखि जरा गाडेको भ्रष्टाचार, सुशासनमा विफलता र पारदर्शिताको अभावका कारण जनतामा आम निराशा छाएको उनले औंल्याए। यी कमजोरीहरूलाई नेपाली कांग्रेसले संस्थागत ढंगले नै स्वीकार गरेको उनको भनाइ छ।

‘सुशासन र समान अवसर नपाउँदा जनतामा निराशा बढेको हो। अब हामीले आत्मसमीक्षा गरेर अघि बढ्नुपर्ने बेला आएको छ,’ उनले थपे।

प्रकाशित: २५ चैत्र २०८२ २०:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App