ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बिहीबार मन्त्रालयका विभिन्न महाशाखा तथा शाखाको आकस्मिक अनुगमन गरेका छन्।
मन्त्रालयको सेवा प्रवाह, कार्यसम्पादन र प्रशासनिक गतिविधिलाई प्रभावकारी तथा व्यवस्थित बनाउने उद्देश्यले मन्त्री श्रेष्ठले विभिन्न महाशाखा र शाखामा पुगेर भइरहेका कामकारबाही तथा कार्यप्रगतिको अवस्थाबारे जानकारी लिएका हुन्।
अनुगमनका क्रममा उनले सबै शाखाका कर्मचारीसँग प्रत्यक्ष छलफल गर्दै कार्यसम्पादनका क्रममा देखिएका समस्या, चुनौती तथा कर्मचारीका गुनासा सुनेका थिए। साथै, मन्त्रालयका कामलाई थप प्रभावकारी बनाउन आवश्यक निर्देशनसमेत दिएका छन्।
मन्त्री श्रेष्ठले मन्त्रालयमा रहेका महत्वपूर्ण कागजात तथा दस्तावेज व्यवस्थित राख्न, अभिलेख व्यवस्थापनलाई चुस्त बनाउन र कार्यालयको भौतिक संरचनाको मर्मतसम्भार तथा सौन्दर्यकरणमा ध्यान दिन कर्मचारीलाई निर्देशन दिएका छन्।
अनुगमनका क्रममा उनले सेवाग्राहीबाट प्राप्त जनगुनासा, त्यसको सम्बोधनको अवस्था र आगामी दिनमा मन्त्रालयले अघि बढाउनुपर्ने कार्ययोजनाबारे समेत जानकारी लिएका थिए।
मन्त्रालयको कामकारबाहीलाई परिणाममुखी, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउने तथा प्रशासनिक कार्यसम्पादनमा देखिएका कमजोरी सुधार गर्ने उद्देश्यले मन्त्री श्रेष्ठले अनुगमनलाई प्राथमिकता दिँदै आएका छन्।
प्रकाशित: १९ कार्तिक २०८३ १८:०५ बिहीबार





