फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै ताप्लेजुङमा मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन जिल्ला स्तरीय समितिको बैठक आइतबारलाई आवह्वान गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका निमित्त निर्वाचन अधिकारी वान्दवराज (विपिन) दुलालका अनुसार यसअघि मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन सिफारिसका लागि लागि वडा स्तरीय समितिलाई लिखित पत्राचार गरिएको थियो ।
पत्राचार अनुरुपको कार्य प्रगतिमा विशेष ध्यान दिन र चाँडै वडास्तरीय समितिबाट आवश्यक सिफारिस जिल्ला समितिमा पठाउने विषयमा जिल्लाभर रहेका पालिकालाई विशेष आवह्वान गर्न बैठक बोलाईएको दुलालले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिमा जिल्ला तहमा क्रियाशील राजनीतिक दल प्रमुख तथा प्रतिनिधि, जिल्ला समन्वय अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख र जिल्ला निर्वाचन अधिकारी सदस्य रहने छन् ।
समितिमा सम्बन्धित स्थानीय तहका प्रमुखलाई आमन्त्रित सदस्यका रूपमा बैठकमा बोलाउन सकिने व्यवस्था छ । निमित्त जिल्ला निर्वाचन अधिकारी दुलालका अनुसार ६१ वडापालिका मध्ये हालसम्म ५ वटाले मतदानस्थल थप गर्न सिफारिसको प्रकृयाबारे बुझ्न थालेपनि प्रकृया अनुसारको सिफारिस भने आइ सकेको छैन ।
यसरी सिफारिसको प्रकृया बुझ्नेमा आठराई त्रिबेणी गाउँपालिका वडा नं २ फुलवारी,मैवाखोला गाउँपालिका वडा नं ६ फाकुम्बा,सिरिजङ्गा गाउँपालिका वडा नं २ आम्बेगुदिन र फक्ताङलुङ गाउँपालिका वडा नं २ खेजेनिम तथा वडा नं ६ लेलेप रहेका छन् ।
सिफारिस पठाउने अवधि बाँकी रहेकोले अरु वडापालिकाबाट समेत सिफारिस आउन सक्ने सम्भावना छ । वडाध्यक्ष वा वडाध्यक्षको कामकाज गर्ने गरी जिम्मेवारी पाएको व्यक्तिको संयोजकत्वमा रहने सिफारिस समितिमा एक जना महिला वडा सदस्य, वडाभित्र मतदान स्थल रहेका विद्यालय वा संस्थाको प्रमुख वा प्रतिनिधि सदस्य र सम्बन्धित वडाको वडासचिव सदस्य सचिव रहने व्यवस्था निर्वाचन आयोगद्वारा जारी मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि २०८१ मा उल्लेख गरिएको छ ।
मतदानस्थल हटाउने, थप्ने, सार्ने वा गाभ्ने कार्यको सिफारिस वडा समितिबाट प्राप्त हुँदा सारिएको मतदानस्थलमा रहने मतदाता नामावली छुट्याई एकिन तथा अद्यावधिक सहितको सिफारिस गर्ने जिम्मेवारी समेत वडा समितिलाई रहने छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार उल्लेखित कार्य सहितको सिफारिस भने अहिलेसम्म प्राप्त हुन आएको छैन ।
‘मतदानस्थल थप गर्नका लागि केहि वडाबाट सिफारिस प्राप्त भएपनि थप भएको मतदानस्थलमा रहने मतदाता नामावली सहितको विवरण भने संलग्न गरी आएको छैन’ निमित्त जिल्ला निर्वाचन अधिकारी दुलालले भने ‘यदि थप वा घटको सिफारिस पठाउने भए यथाशीघ्र पठाउन अब जिल्ला स्तरीय समितिबाट आग्रह गरिने छ’।
समितिले वडाभित्रका मतदान स्थल तथा मतदान केन्द्रको अध्ययन अवलोकन गर्ने, मतदान स्थल तथा मतदान केन्द्रमा मतदान गर्ने मतदाताहरूको पहिचान गर्ने, मतदान स्थल तथा मतदान केन्द्र निर्धारण गर्ने सम्बन्धमा दल, स्थानीय तह र अन्य सरोकारवालासँग समन्वय गर्ने जिम्मेवारी पाएको छ।
यसबाहेक समितिले वडाभित्रका मतदान स्थल तथा मतदान केन्द्रको नाम र विवरणमा रहेको त्रुटी सच्याउनुपर्ने भएमा वा वडाभित्र नयाँ मतदान स्थल थप गर्नुपर्ने भएमा वा साविकमा रहेका मतदानस्थल हटाउनुपर्ने वा गाभ्नुपर्ने भएमा वा एक मतदान स्थलमा रहेका मतदातालाई अर्को मतदान स्थलमा सार्नुपर्ने भएमा कारण खुलाई प्रमाण संलग्न गरी जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समिति समक्ष सिफारिस गर्न पाउने जिम्मेवारी रहेको छ ।
निमित्त जिल्ला निर्वाचन अधिकारी दुलालका अनुसार अहिले ताप्लेजुङमा ७५ मतदानस्थल र १२३ मतदान केन्द्र कायम रहेका छन् ।
प्रकाशित: १५ कार्तिक २०८२ १६:२९ शनिबार





