२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
राजनीति

चुनावी चर्चा: मतदाता तयार, अलमलमा दल

सरकार र निर्वाचन आयोग प्रतिनिधिसभा सदस्य निर्वाचन तयारीमा लागे पनि दलहरूलाई भने अझै चुनावले छोएको छैन। आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसक्दा पनि दलहरूले सक्रियता बढाएका छैनन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवार छान्न आवेदन मागेको छ । रास्वापा बागलुङका अध्यक्ष महेन्द्र खड्काले अन्य चुनावी गतिविधि अघि नबढाए पनि संगठन विस्तार भइरहेको बताए । जिल्लाका ८५ वडामध्ये अधिकमा पार्टी संगठन निर्माण गरेको जानकारी दिँदै उनले भने, ‘संगठन निर्माण नभएका ठाउँमा निर्वाचन अभियानसँगै संगठन बनाउनेछौं।’

तर बाग्लुङमा अन्य दलले निर्वाचनसम्बन्धी कुनै तयारी थालेका छैनन् । विघटित प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल नेपाली कांग्रेस केन्द्रमा महाधिवेशन मितिको विषयलाई लिएर विभाजित छ। त्यसको प्रभाव बागलुङमा पनि परेको छ। जिल्ला र वडा तहका कार्यकर्ताबिच पनि महाधिवेशन प्रतिनिधिसभा सदस्य निर्वाचन अघि कि पछाडि भन्ने विषयमा सामाजिक सञ्जालमा आरोपप्रत्यारोप र छेडखानी चलिरहेको छ। फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन मिति तोकेको दुई महिना बढी भइसकेको छ।

कांग्रेस बागलुङका सभापति जितबहादुर शेरचनले निर्वाचन हुने अवस्थामा पार्टी तयार रहेको दाबी गरे। केन्द्रीय समिति बैठक चलिरहेकाले गाउँगाउँमा चुनावी अभियो नचलाएको बताउँदै शेरचनले भने, ‘निर्वाचनअघि महाधिवेशन हुने भयो भने महाधिवेशन र निर्वाचनलाई एकसाथ लिएर गाउँ जान्छौं।’ कांग्रेस हिजोका गल्तीहरु सुधार गरी फेरि जनताको मन जित्नेगरी चुनाव जाने उनी बताउँछन्।

एमाले केन्द्रले प्रतिनिधिसभा पुनस्र्थापनाको मागसँगै वर्तमान सरकारले चुनाव गराउन नसक्ने दाबी गर्दै आएकाले त्यसको असर जिल्लामा पनि परेको छ। यसैकारण जिल्ला नेतृत्वले निर्वाचन गतिविधि सञ्चालन गर्न सकेको छैन। निर्वाचन तयारी सम्बन्धमा अहिलेसम्म पार्टी केन्द्रबाट कुनै निर्देशन नआएको एमाले बागलुङका अध्यक्ष हीराबहादुर केसी बताए। उनले भने, ‘निर्वाचन हुँदाको बखत हामी नयाँ ऊर्जका साथ जनता माझ जान्छौं र निर्वाचन पनि जित्छौं।’ अहिले पार्टी महाधिवेशन तयारीमा भएकाले त्यसतर्फ केन्द्रित रहेको उनको भनाइ छ।

केही साताअघि नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित १० वाम घटकबिच एकता गरी बनेको नेपाली कम्युनिस्ट पार्टीलाई पनि चुनावले छोएको छैन। पार्टी एकता प्रक्रियालाई पूरा गर्ने काममै ध्यान केन्द्रित भएको तत्कालीन नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक राजिव घिमिरेले बताए।

उनले भने्, ‘तल्लो तहसम्मको एकता प्रक्रिया सकिएपछि पुस महिनाबाट निर्वाचनसम्बन्धी कार्य अगाडि बढ्छ।’

राष्ट्रिय जनमोर्चा बागलुङले चुनावकेन्द्रित अभियान सञ्चालन नगरे पनि मतदातालाई नामावलीमा दर्ता हुन झकझकाइरहको जिल्ला अध्यक्ष तेजबहादुर थापा बताउँछन्। अहिले नै चुनावी वातावरण सुरु नभएको बताउँदै उनले मतदाता नामावलीमा छुटेकालाई सूचीकृत हुन प्रोत्साहन गरिरहेको बताए।

चुनावी मामिलामा दलहरु अन्योलग्रस्त देखिए पनि मतदाता तोकिएकै समयमा निर्वाचन हुनुपर्ने पक्षमा छन्। निर्वाचनले परम्परागत दलहरुलाई धक्का दिने र युवा पुस्ताको माग सम्बोधन गर्ने नयाँ दलले मत पाउने मतदाताको बुझाइ छ। ‘अहिलेको अवस्थामा पुराना दलहरुको मत यसै पनि घट्ने देखिन्छ’, मतदाता निलेश राजभण्डारी भन्छन्, ‘कसले जित्छ भन्ने कुरा नयाँ दलहरु कसरी आउँछन् त्यसमा भर पर्छ।’

जेनजी अभियन्तासमेत रहेका कमल कँडेल निर्वाचनको विकल्प नभएको बताउँछन्। लोकतन्त्रमा निर्वाचनको विकल्प नहुने बताउँदै उनले भने, ‘भ्रष्टाचारविरुद्ध र सुशासन तथा रोजगारीको ग्यारेन्टी गर्नेगरी आउने दलले निर्वाचनमा मत पाउँछन्। नयाँ दल आए पनि हुन्छ, पुराना दल सच्चिएर आए पनि हुन्छ।’

निर्वाचनको वातावरण बन्दा मतदाता मतदानका लागि तयार रहेको नागरिक समाज बागलुङका संयोजक एवं वरिष्ठ अधिवक्ता काजीगाउँले श्रेष्ठ बताउँछन्। सरकार र दलले निर्वाचनको वातावरण बनाउनुपर्ने तर्क गर्दै उनले भने, ‘अन्योलग्रस्त स्थिति र सबैतिरबाट च्याँखे दाउ थाप्ने काम भइरहे निर्वाचन प्रभावित हुन सक्छ।’

जेनजीले उठाएका माग सम्बोधन गरेर निर्वाचनमा जानुपर्ने बताउँछन् धवलागिरी बहुमुखी क्याम्पस बागलुङका उपप्राध्यापक गोविन्द गौतम। उनी भन्छन्, ‘अहिलेकै अवस्थामा चुनावमा जाँदा त जेनजी आन्दोलनको औचित्य हराउँछ। अध्यादेशमार्फत भए पनि प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था गरेर निर्वाचनमा जानुपर्छ।’

अहिलेको सन्दर्भमा निर्वाचनको विकल्प नभए पनि कांग्रेस, एमाले सहभागी नभए चुनाव नहुने अवस्था आउन सक्छ।

जिल्ला निर्वाचन कार्यालय बाग्लुङले आफ्नो तयारी गरिरहेको छ। जिल्ला मतदान केन्द्र सिफारिस समितिको बैठक राखेर काम अगाडि बढाइएको छ। मतदाता नामावलीमा नाम दर्ता गनेर्, अद्यावधिक गर्ने काम पनि भइरहेको छ। कात्तिक १६ गतेसम्म बागलुङमा १ लाख ८९ हजार १ सय ७३ जना मतदानका लागि योग्य छन्। मंसिर १ गतेसम्म १ हजार ३ सय ९ नयाँ मतदाता दर्ता भएको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माले बताए।

यस्तो छ विगत

संविधानसभाबाट संविधान जारीपछि २०७४ सालमा भएको निर्वाचनमा बाग्लुङमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चालगायतले गठबन्धनमा थिए भने कांग्रेस एक्लै थियो। त्यसबेला बाम गठबन्धनले प्रतिनिधिसभाका दुवै क्षेत्रमा जित निकालेको थियो। रष्ट्रिय जनमोर्चाले प्रदेशसभातर्फ दुई सिटमा जितेको थियो। प्रतिनिधिसभातर्फ एकएक र प्रदेशसभातर्फ पनि एकएक क्षेत्रमा एमाले र माओवादीले भागबन्डा गरेका थिए। प्रतिनिधिसभामा बागलुङ क्षेत्र नम्बर १ बाट एमालेका सूर्य पाठक र क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका देबेन्द्र पौडेल निर्वाचित भएका थिए।

२०७९ सालको निर्वाचनमा स्थिति उल्टियो । एमाले एक्लै चुनाव लड्यो। कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चासहितको पाँच दलीय गठबन्धनका उम्मेदवारले सबै क्षेत्रमा चुनाव जिते। कांग्रेसले प्रदेशसभातर्फका चारवटै सिट लिएर प्रतिनिधिसभातर्फ एउटा सिट राष्ट्रिय जनमोर्चा र अर्को सिट माओवादी केन्द्रलाई छोड्यो। प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ बाट चित्रबहादुर केसी र क्षेत्र नम्बर २ बाट देबेन्द्र पौडेल निर्वाचित भए। क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले २१ हजार ४ सय ६४ मतसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी एमालेका सूर्य पाठकले १८ हजार ८ सय ४५ मत पाए। उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका खिमानन्द कँडेलले ९ हजार १ सय ९१ मत पाएका थिए।

क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका पौडेलले २४ हजार ७ सय ९४ मतसहित विजयी भए। कांग्रेस छाडेर एमालेबाट उम्मेदवार बनेकी मञ्जु शर्मा चालिसे २० हजार १ सय ९३ मत मात्र पाइन्। क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तिला खत्रीले २ हजार ३ सय २७ मत पाएकी थिइन्। समानुपातिकतर्फ कांग्रेसले ३२ हजार ८ सय २० र एमालेले ३२ हजार ४ सय ३३, माओवादी केन्द्रले १२ हजार १ सय ३१ र राष्ट्रिय जनमोर्चाले १० हजार ७ सय ६० मत पाएका थिए। त्यसबेला जिल्लामा एक लाख ९२ हजार २ सय २७ मतदाता थिए । मत भने एक लाख २ हजार ५ सय ३७ खसेको थियो।

भारी बिसाउने तयारीमा चित्रबहादुर

राष्ट्रिय राजनीतिमा चर्चामा रहने व्यक्ति हुन चित्रबहादुर केसी। राष्ट्रिय जनमोर्चाको केन्द्रीय अध्यक्षसमेत रहेका सादगी नेता उनले बागलुङबाट पटकपटक निर्वाचन जितेका छन्। अब चुनावको भारी नबोक्ने तयारी गरेको उनले बताए। ‘मेरो उमेर अवस्थाले पनि अब निर्वाचनमा उम्मेदवार बन्न गाह्रो छ, चार महिना भयो म अहिले सक्रिय राजनीतिबाटै विमुख छु’, उनले भने, ‘मेरो परिवार (पत्नी) अल्जाइमरको बिरामी हुन्, एकैछिन् पनि छोड्न हुँदैन।’

 केसीले अहिले निर्वाचनको वातावरण नभएको र निर्वाचन भैहाले राष्ट्रिय जनमोर्चाले अरुलाई नै उम्मेदवारको रुपमा अगाडि सार्ने बताए।

‘वर्तमान सरकार असंवैधानिक तवरले बनेको छ, यो विदेशी शक्तिको आडमा बनेको सरकार हो’, उनले भने, ‘अहिले विदेशीले चाहे निर्वाचन हुन्छ नचाहे हुँदैन। अहिलेसम्म निर्वाचनको वातावरण बनाउने काम भएको छैन। निर्वाचन भैहाले अरुलाई पार्टीले उम्मेदवार बनाउँछ।’

अहिले पत्नीको हेरचाहका लागि आफू बुटवल रहेको उनले बताए। केसीले बागलुङको तत्कालीन क्षेत्र नम्बर २ बाट २०५६  र २०६४ सालको निर्वाचन पनि जितेका थिए। २०७० को संविधानसभामा समानुपातिकबाट सदस्य भएका उनी २०७४ सालमा निर्वाचनमा उम्मेदवार बनेनन्।  

आगामी निर्वाचनमा केसीले उम्मेदवार बन्ने चाहना नराखे पार्टीले अर्को विकल्प दिने राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष तेजबहादुर थापा बताउँछन्। ‘उहाँले हुन्छु भनेसम्म अर्को विकल्प खोज्ने कुरो भएन’, थापाले भने, ‘उहाँले हुन्न भनेपछि पार्टीले अर्को व्यक्तिलाई अगाडि सार्छ।’

पुरानै दल आउँछन्

राजेन्द्र आचार्य, उपसभापति, रेडक्रस बागलुङ

राजेन्द्र आचार्य, उपसभापति, रेडक्रस बागलुङ

अहिलेको अवस्थामा चुनाव हुन्छ हुन्न भन्ने अवस्था छैन। हामीले निर्वाचन हुन्न भन्न त भएन तर वातावरण बनेको देखिन्न। एउटा ठुलो दल एमाले प्रतिनिधिसभा पुनस्र्थापनाको मुद्दा लिएर अदालत जाने कुरा गरिरहेको छ। निर्वाचन गराउने जिम्मा पाएको सरकारले पनि त्यसतर्फ विशेष मेहनत गरेको देखिन्न। अहिलेको अवस्थामा निर्वाचन अनिवार्य हो तर द्विविधाको अवस्था छ। जेनजीले आन्दोलन गरे, परिवर्तन पनि गरे तर उनीहरुको नेता नहुँदा परिवर्तनको अपनत्व कसले लिने भन्ने विवाद छ। सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जनालगायतका माग र मुद्दा जेनजी पुस्ताको मात्रै होइन। यो माग सबै नेपालीको हो। जेनजी आन्दोलनको बलमा बनेको सरकार पनि जेनजीका पक्षमा डटेर लागेको देखिन्न। निर्वाचन हुँदा जेनजी पुस्ताबाट को उम्मेदवार हुने हो भन्ने अन्योल छ । केही तलमाथि भए पनि पुरानै दलले निर्वाचन जित्ने जस्तो अवस्था देखिन्छ। जे भए पनि सबैले निर्वाचनको वातावरण बनाउनुपर्छ।

निर्वाचनको विकल्प छैन

रामजी सुवेदी, शिक्षक

रामजी सुवेदी, शिक्षक

अहिलेको संविधानलाई जोगाइराख्न पनि निर्वाचनको विकल्प छैन। सही मार्गमा फर्किने एउटै र लोकतान्त्रिक माध्यम निर्वाचन हो तर दलहरु तयार नभएसम्म निर्वाचन हुन सक्दैन। दलबिनाको निर्वाचनको कुनै अर्थ पनि छैन। अहिले निर्वाचनप्रति त्यति ठुलो उत्साह देखिन्न। जेनजी आन्दोलनको प्रभाव गाउँघरमा पनि परेको देखिन्छ। अब जेनजीबाट आउनुपर्छ है भनेको पनि सुनिन्छ तर नयाँ र फरक सोचका साथ अगाडि बढ्ने भनेका जेनजीहरु नै अहिले तितरबितर भएको अवस्था छ। निर्वाचन भएमा पुराना दलको केही प्रतिशत मत तलमाथि होला। त्यसले जितहारमा फरक नपार्ला। पुराना दललाई हराउन ठुलै मेहनत गर्नुपर्ने देखिन्छ। पुराना दलहरुको वर्षौंदेखिको संगठन छ। निर्वाचन हुँदा संगठनले राम्रै अर्थ राख्छ होला। निर्वाचन हुनुपर्छ तर अहिलेसम्म वातावरण बनेको छैन। देश झन् द्वन्द्वमा जान्छ कि भन्ने चिन्ता मतदातामा छ। अहिलेका गतिविधि हेर्दा फागुनमा निर्वाचन नहुने हो कि जस्तो छ।

नयाँ नमिले पुरानैलाई फाइदा

भरतप्रसाद सापकोटा, मतदाता

जेनजी आन्दोलनपछि गाउँगाउँका मानिसमा देशको अवस्था र राजनीतिप्रति चासो बढेको छ । तर निर्वाचनको विषयमा त्यति धेरै कुरा सुरु भएको छैन। आममानिस जो आए पनि, जे भए पनि त्यस्तै हो भन्ने अवस्थामा छन्। दलका कार्यकर्ताबिच चुनावको कुरा भए पनि सामान्य नागरिकले खासै चासो राखेजस्तो देखिन्न। अहिलेको किचलाले फागुनमा निर्वाचन पो हुन्न कि भन्ने जस्तो पनि देखिन्छ। निर्वाचनका आधारस्तम्भ मानिने दलहरु नै निर्वाचनका लागि तयार नभए जस्तो छ। परिवर्तनकारी र नयाँ भनिएका जेनजी अगुवाहरू छिन्नभिन्न छन् । यसले परिवर्तन संस्थागत हुन्न सक्दैन । नयाँ सोच भएका युवा नमिले पुरानै दलले निर्वाचन जित्ने अवस्था छ। वर्षौंदेखि जरा गाडेर बसेका पुराना दललाई धक्का दिन परिवर्तनकारी शक्तिहरु एकै ठाउँमा उभिनुपर्छ । तोकिएको समयमा निर्वाचन गर्न राजनीतिक सहमति गर्नुपर्छ । अहिलेसम्म त्यस्तो वातावरण बनेको देखिन्न । निर्वाचन आवश्यक छ तर अवस्था अन्योलपूर्ण छ।

लाेकतन्त्रमा चुनाव अनिवार्य

गिता श्रीस, अध्यक्ष, उच्च अदालत बार एसोसिएसन बागलुङ

गिता श्रीस, अध्यक्ष

निर्वाचन आयोगको कार्यतालिका देख्दा त निर्वाचन हुने देखिन्छ तर सरकार र आयोग दलहरुसँग छलफल गर्न चुकेको देख्दा फागुनमै निर्वाचन हुनेमा आशंका छ। निर्वाचन कार्यतालिकाले मात्रै हुने होइन। निर्वाचनका लागि सबै दल तयार हुनुपर्छ। निष्पक्ष र भयरहित निर्वाचन हुन्छ भन्ने विश्वास पनि जगाउन सक्नुपर्छ। अहिलेको अवस्थामा निर्वाचन भयो भने पुरानै दलहरु अगाडि आउने देखिन्छ। अनुहार फेरिन सक्छन्। जेनजी आन्दोलनका क्रममा एक खालको आक्रोश देखियो तर स्पष्ट कार्यदिशा त्यसले लिन सकेन। जेनजीले गरेको परिवर्तनलाई स्थापित गर्न सकेनन्, एउटा सरकार विस्थापित गरेर अर्को ल्याए। जेनजीका माग र मुद्दा बोकेर हिँड्ने नेतृत्व नहुँदा आन्दोलन ओझेल पर्ने खतरा देखिएको छ। नयाँ दल आएर पुरानालाई पाखा लगाउने अवस्था अझै देखिएको छैन। लोकतन्त्रमा निर्वाचन अनिवार्य हो । संविधानलाई सही मार्गमा ल्याउन पनि निर्वाचन हुनुपर्छ।

प्रकाशित: ७ मंसिर २०८२ ०७:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App