२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

लोकप्रियतावादका नाममा गणतन्त्रको आधार कमजोर पार्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोकप्रियतावादका नाममा गणतन्त्रका आधारलाई कमजोर पार्ने प्रयास भइरहेको बताएका छन्। शुक्रबार गणतन्त्र दिवसका अवसरमा कोशी प्रदेश सकारले विराटनगरमा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन्।

मुख्यमन्त्री कार्कीले भने, 'पछिल्लो समय लोकप्रियतावादको नाममा लोकतान्त्रिक गणतन्त्रका आधारमाथि नै प्रश्न उठाउने तथा राज्यका संस्थाप्रति अविश्वास फैलाउने प्रवृत्ति देखिन थालेका छन्।' उनले लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि संघर्ष गरेका शक्तिहरूबीच सहकार्य, समन्वय र आपसी विश्वासको वातावरण निर्माण गरी गणतन्त्रका उपलब्धिलाई थप सुदृढ र संस्थागत बनाउनुपर्ने आवश्यकता औँल्याए।

कार्कीले नेपाली जनताको लामो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रले मुलुकलाई नागरिक स्वतन्त्रता, समावेशी शासन प्रणाली र लोकतान्त्रिक अभ्यासको दिशामा अगाडि बढाएको उल्लेख गरे। गणतन्त्र स्थापना भएपछि देशले राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिको आधार तयार गरेको कार्कीको दाबी छ। विकास निर्माण, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य, सञ्चार तथा सामाजिक न्यायका क्षेत्रमा भएका उपलब्धिले मुलुक सकारात्मक दिशातर्फ अघि बढिरहेको उनको भनाइ छ। यद्यपि नागरिकका अपेक्षा अनुसार सुशासन कायम गर्न, रोजगारी सिर्जना गर्न, उत्पादन वृद्धि गर्न तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन अझै चुनौती रहेको कार्कीले बताए।

देशलाई आर्थिक रूपमा आत्मनिर्भर र समृद्ध बनाउन सरकार, राजनीतिक दल, निजी क्षेत्र तथा नागरिक समाजबीच सहकार्य आवश्यक रहेकोमा उनले जोड दिए। गणतन्त्र दिवसले लोकतान्त्रिक मूल्य, नागरिक अधिकार, सामाजिक न्याय, समावेशी विकास तथा राष्ट्रिय एकताको भावनालाई थप मजबुत बनाउन प्रेरणा दिने मुख्यमन्त्री कार्कीले विश्वास व्यक्त गरे।

प्रकाशित: १५ जेष्ठ २०८३ १०:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App