२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

विद्यालय शिक्षा सुधारमा फिनल्यान्डसँग सहकार्य गर्न शिक्षामन्त्री पोखरेलको प्रस्ताव

सरकारले विद्यालय शिक्षा सुधारका उद्देश्यले फिनल्यान्ड सरकारसँग सहकार्यको अवसर खोज्ने संकेत गरेको छ। 

बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल र नेपालका लागि फिनल्यान्डका राजदूत पेट्री पुहाक्काबीच भएको भेटमा मन्त्री पोखरेलले फिनल्यान्डसँग शिक्षा क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव राख्दै, नेपालको विद्यालय शिक्षा सुधार र गुणस्तर उकास्ने विषयमा गम्भीर चासो रहेको बताए। 

उनले फिनल्यान्डको शिक्षा प्रणालीलाई विश्वकै उच्च गुणस्तरको मानिएको स्मरण गर्दै, नेपालको विकासमा फिनल्यान्डले पुर्‍याएको योगदानको हार्दिक धन्यवाद व्यक्त गरे। मन्त्री पोखरेलले सरकारले अघि सारेका प्राथमिकताहरू, आगामी योजना तथा कार्यक्रमबारे जानकारी गराउँदै, फिनल्यान्डको शिक्षा क्षेत्रमा गरिरहेको सहयोगको सराहना गर्दै भविष्यमा पनि निरन्तर सहयोगको अपेक्षा रहेको बताए।  

भेटवार्तामा द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन, शिक्षा क्षेत्रमा फराकिलो साझेदारी लगायतका विविध विषयमा छलफल भएको थियो। उक्त अवसरमा महामहिम राजदूत पुहाक्काले नेपालको शिक्षा क्षेत्रमा फिनल्यान्डको निरन्तर पाँच वर्षसम्मको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। हाल फिनल्यान्डको सहयोगमा विद्यालय शिक्षा क्षेत्र कार्यक्रम र ‘टिचर्स एजुकेशन’ परियोजना सञ्चालनमा छन्।

साथै, नेपाल सरकारले अटिजम विद्यालय स्थापना गर्ने नीति अघि सारेको सन्दर्भमा राजदूत पुहाक्काले फिनल्यान्डको अटिजम तथा ‘इन्क्लुसिभ एजुकेशन’मा विशेषज्ञता भएकाले सहयोग गर्न इच्छुक रहेको बताए।  

राजदूत पुहाक्काले वर्तमान सरकारको प्राथमिकतामा रहेको ‘डिजिटल ट्रान्सफरमेसन’ एजेन्डामा पनि फिनल्यान्डको विशेषज्ञता अनुसार सहयोग गर्ने इच्छा व्यक्त गरे।  

प्रकाशित: १७ वैशाख २०८३ १७:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App