सांसद आशिष गजुरेलले सार्वजनिक खरिदको विद्युतीय प्रणाली (ई–जिपी) अनिश्चितकालका लागि बन्द गरिएको नभई प्रणालीमा देखिएको कमजोरी सुधारका लागि काम भइरहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत हाल सञ्चालनमा रहेको ई–जिपी सफ्टवेयरमा गम्भीर कमजोरी देखिएको जिकिर गर्दै उनले यस्तो बताएका हुन्। उनले एउटा प्रस्तावदाताले अर्को प्रस्तावदाताको प्रस्ताव हेर्न तथा त्यसमा पहुँच राख्न सक्ने अवस्थासम्म देखिएपछि समस्या पहिचान गरी प्रणाली सुधारको काम अघि बढाइएको बताए।
गजुरेलले प्रस्तावदाताले एकअर्काको विवरण तथा प्रस्तावमा पहुँच पाउने अवस्था रहिरहे सार्वजनिक खरिद प्रक्रियामा प्रतिस्पर्धा प्रभावित हुने र त्यसबाट मुलुकलाई आर्थिक क्षतिसमेत हुन सक्ने बताए। त्यसैले कमजोरी थाहा पाएपछि त्यसलाई सुधार गर्नु नै उपयुक्त हुने उनको भनाइ छ।
उनले ई–जिपी प्रणालीमा सुधारको काम भइरहे पनि ठेक्का तथा खरिद प्रक्रिया भने नरोकिने स्पष्ट पारेका छन्। हाल ई–जिपीको सट्टा हार्डकपीमार्फत टेन्डर बुझाउने, खोल्ने, मूल्याङ्कन गर्ने, छनोट गर्ने र करार सम्झौता गर्ने काम भइरहेको उनले बताए।
‘ई–जिपी प्रणाली अनिश्चितकाल बन्द भएको होइन। के भइरहेको छ बुझौँ,’ गजुरेलले भनेका छन्।
उनका अनुसार प्रणाली सुधारका लागि विज्ञहरूबाट काम भइरहेको छ र सकेसम्म छिटो सुधार गरी ई–जिपी प्रणाली पुनः सञ्चालनमा ल्याइनेछ।
गजुरेलले निर्माण कार्यलाई प्रभावकारी बनाउन सार्वजनिक खरिद प्रक्रिया पनि प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन्। गलत अभ्यासलाई निरन्तरता दिँदा त्यसले राष्ट्रलाई नै हानि पुर्याउने उनको भनाइ छ।
उनले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सकेसम्म छिटो ई–जिपी प्रणाली पुनः लागू गर्न आग्रह गरेको र त्यसका लागि आफूले आवश्यक सहजीकरण गरिरहेको बताएका छन्।
प्रकाशित: ३० भाद्र २०८३ ०९:०७ मंगलबार




-600x400.jpg)
