राजावादी अभियन्ता दुर्गा प्रसाईँले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) र महानगर प्रहरीलाई बहुचर्चित हिन्दी चलचित्र ‘शोले’को ‘गब्बर’ पात्रसँग तुलना गरेका छन्। ‘गब्बर’ शोले फिल्मका खलपात्र हुन्। उनै खलपात्रसँग प्रसाईँले बालेन र नगर प्रहरीको तुलना गरेका हुन्।
‘बिग्रेको समान बेचेर खान्छु भन्न नपाउने काठमाडौंमा ? अनि लात हानेर लखेट्नुपर्ने?,’ शनिवार आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईँले भने, ‘नगर प्रहरीको ज्यादती तपाईँहरूले बुझ्नुभएको छ?’ काठमाडौंको नगर प्रहरी र काठमाडौंको मेयर आयो भन्दा उहिलेको ‘शोले’ फिल्मको याद आएको बताए।
‘५० कोष परबाट गब्बर आउँदै छ भनेपछि बच्चाहरू सुत्थ्यो अरे क्या यहाँ। बेटे सो जाओ, नहीँ तो गब्बर आ जाएगा,’ उनले भने,‘काठमाडौंको मेयर र नगर प्रहरी शोले फिल्मको गब्बर जस्ता भएका थिए यहाँ।’ त्यसको अन्त्य आफूले गरिदिएको प्रसाईँले दाबी गरे।
‘त्यसको अन्त्य गरिदियौँ हामीले। आज सुकुम्वासी र कवाडी व्यवसायी चैनसँग। कवाडीले व्यापार गर्न पाएका छन्, सुकुम्वासीले खोलाकै डिलमा भए पनि आनन्दले बस्न पाएका छन्,’ उनले भने।
गब्बरलाई ठेगान लगाउने धर्मेन्द्र र अमिताभ बच्चन पनि यहीँ छन् भनेर आफू मैदानमा भिड्न गएको उनले दाबी गरे।
प्रकाशित: १३ मंसिर २०८२ १७:३६ शनिबार





