नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नं. ६ का उम्मेदवार शेखर कोइरालाले विराटनगरलाई डुबानमुक्त बनाउने दाबी गरेका छन् । बिहीबार विराटनगर १२ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कोइरालाले विराटनगरलाई डुवानमुक्त बनाउने प्रतिबद्धता दोहोर्याएका हुन्।
वर्षायाममा केसलिया खोलाका कारण स्थानीयवासीले भोग्दै आएको समस्याप्रति संकेत गर्दै उनले तटबन्धन निर्माणलाई प्राथमिकतामा राख्ने आश्वासन दिए। “केसलिया खोलाले यहाँका बासिन्दालाई वर्षेनी दुःख दिँदै आएको छ,” उनले भने, “सुदृढ तटबन्धन निर्माण गरेर विराटनगरलाई डुवानमुक्त बनाउने मेरो स्पष्ट योजना छ।”
यसपटकको निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउन आग्रह गर्दै नेता कोइरालाले आफूले सुरु गरेका विकासका कामलाई निरन्तरता दिन जनताको साथ आवश्यक रहेको धारणा व्यक्त गरे।
उनका अनुसार स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय गरेर मात्र दिगो विकास सम्भव छ। विराटनगर–१२ ठूलो र सम्भावनायुक्त वडा भएकाले सडक, पुल–पुलेसा, ढल निकास तथा अन्य पूर्वाधार विकासलाई तीव्रता दिनुपर्ने उनले बताए।
कोइरालाले विगतमा भएका विकास निर्माणका कामहरूको चर्चा गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले योजना कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए। उनले भने, “विकासका काम एक्लैले सम्भव हुँदैनन्। वडा, नगर, प्रदेश र संघ सबैको सहकार्य आवश्यक हुन्छ। त्यसका लागि राजनीतिक स्थिरता र सक्षम नेतृत्व चाहिन्छ।”
महेन्द्र मोरङ क्याम्पसको विज्ञान भवन आफ्नै पहलमा ५ करोड रुपैयाँ बजेटको व्यवस्थापन गरेर निर्माण गराएको दाबी गर्दै उनले क्याम्पसको शैक्षिक पूर्वाधार सुधारमा आफू निरन्तर लागिपरेको र अझै धेरै काम गर्न बाँकी रहेको बताए। यस क्षेत्रको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि थप पूर्वाधार, प्रयोगशाला र स्रोत–साधन विस्तार गर्नुपर्ने अवस्था रहेको जानकारी दिँदै नेता कोइरालाले समयअनुसार हरेक क्षेत्रमा परिवर्तन आवश्यक रहेको बताए ।
प्रकाशित: ७ फाल्गुन २०८२ १४:१७ बिहीबार

