नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले चारतारे झण्डा र रुखमा कांग्रेसका समग्र कार्यकर्ताको भविष्य जोडिएको बताएका छन्।
नेपाली कांग्रेसका पूर्व सभापति एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय वीपी कोइरालाको ४४ औं स्मृति दिवस तथा नेपाली कांग्रेसले २०८३ वैशाख १ गतेदेखि सुरु गरेको जरा अभियान समापन कार्यक्रमलाई बुधबार नेपालगन्जमा सम्बोधन गर्दै सभापति पुनले यस्तो बताएका हुन्।
पार्टीभित्र एक अर्काबिच वैचारिक मतभेद भएपनि अन्ततः चारतारे झण्डा र रुखमुनि सबै रहनुपर्नेमा उनले जोड दिए। एक अर्काबिचका मतभेदलाई अन्त्य गरेर पार्टीलाई एक ढिक्का बनाउन नेता तथा कार्यकर्तालाई सभापति पुनले आग्रह गरे।
स्वर्गीय वीपी कोइराला सहितका नेताहरुले ठुलो त्याग र तपस्या गरेर बनाएको पार्टीको कार्यकर्ता हुन पाउनुमा आफैमा गर्वको कुरा भएको भन्दै संविधान सभा सदस्य समेत रहेका प्रदेश सभापति पुनले यताउता नसोचेर चारतारे झण्डा र रुख चिन्हमा गोलबद्ध हुन अनुरोध गरे।
‘पार्टीभित्र मतभेद होलान्, तर यताउता नसोचेर हामी चारतारे झण्डा, यही रुख र यही समाजलाई सम्झेर पार्टीलाई बलियो बनाउनतर्फ सबै लाग्नुपर्छ,’ उनले भने, ‘बाँके कांग्रेसलाई पनि एक ढिक्का बनाउन म आग्रह गर्छु।’
नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका पूर्वकेन्द्रिय सदस्य एवम् जरा अभियानका लागि बाँकेमा खटिएका केन्द्रीय प्रतिनिधि महेन्द्रराज शर्मा र नेपाल महिला संघका केन्द्रीय प्रतिनिधि उमा रावतले पनि सम्बोधन गरेका थिए।
प्रकाशित: ६ श्रावण २०८३ १९:४० बुधबार





