२८ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
राजनीति

पार्टीमा योगदानको मूल्य नखोज्नु होला, माग्ने बेला मेरो पनि भएको छैन: रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीमा पुर्‍याएको योगदानको बदलामा पद वा पुरस्कार खोज्ने समय अझै नभएको बताएका छन्।

जनताले अवस्था बदल्ने तागत दिएको उल्लेख गर्दै उनले अबको पाँच वर्ष व्यक्तिगत लाभभन्दा माथि उठेर परिणाममुखी काममा केन्द्रित हुनुपर्नेमा जोड दिए।

आइतबार पार्टीका सांसदहरूका लागि आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले योगदानको मूल्य खोज्दै ढोका ढकढक्याउने प्रवृत्तिप्रति दुःख व्यक्त गरे।

उनले भने, ‘यो पार्टीमा योगदानको मूल्य माग्ने बेला मेरो पनि भएको छैन। वास्तविक योगदान त अब देशलाई दिने हो।’

सरकारमा सहभागी भएपछि सबै सांसद मन्त्री हुन नसकेको र कतिपयमा समिति सभापति नबन्दा असन्तुष्टि देखिएको तर्फ संकेत गर्दै उनले चित्त नदुखाउन आग्रह गरे।

‘हामी यति धेरै जितेर आयौँ, तर सबै मन्त्री हुन सकेनौँ। समिति सभापति पाइएन भनेर कतै न कतै साथीहरूलाई दुःख त छ, मनमा घाउ वा चोट राख्नुभएको छ,’ उनले थपे, ‘तर सांसदका रूपमा हामीले देशको इतिहासलाई दिन सक्ने योगदान एकपटक हेर्नुभयो भने त्यो मन्त्री वा पार्टी सभापतिले भन्दा धेरै छ।’

सभापति लामिछानेले मन्त्री पद र त्यसबाट प्राप्त हुने सामाजिक प्रतिष्ठालाई मात्रै सफलताको सूचक बनाउनु गलत भएको टिप्पणी गरे। उनले सांसदहरूलाई आफूले के गर्न सकिन्छ भन्ने विषयमा गम्भीरतापूर्वक पाना पल्टाएर हेर्न र मुख्यगरी कानुन निर्माणको प्रक्रियामा केन्द्रित हुन निर्देशन दिए।

रास्वपाको राजनीतिक उदयलाई विश्व इतिहासकै सहज संघर्षको भएको बताउँदै उनले प्राप्त उपलब्धिलाई परिणाममा बदल्न नसके आफूहरू ‘नालायक’ सावित हुने बताए।

लामिछानेले भने, ‘यति सजिलो क्रान्तिबाट आएर पनि यदि हामीले परिणाम दिन सकेनौं भने हामी नालायक सावित हुनेछौं। अबको हाम्रो मुख्य लक्ष्य भनेको अवस्था बदल्ने क्रान्ति गर्ने हो।’

प्रकाशित: २७ वैशाख २०८३ १५:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App