११ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

पुराना दलप्रतिको वितृष्णा स्वाभाविक, जनताले समृद्धिको विकल्प खोजे: महतो

राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले निर्वाचनमा पुराना राजनीतिक दलहरूप्रति देखिएको जनवितृष्णा र निराशा पूर्ण रूपमा स्वाभाविक भएको बताएका छन्।

जनताले सुशासन र समृद्धिका लागि परिवर्तन चाहेको र पुराना दलले त्यसको प्रत्याभूति दिन नसक्दा नयाँ विकल्पको खोजी भएको उनको भनाइ छ।

निर्वाचनको परिणामलाई कुनै अनौठो मान्न नहुने बताउँदै महतोले हरेक आन्दोलनपछिका चुनावमा जनताले आफ्नो असन्तुष्टि र चाहना मतमार्फत व्यक्त गर्ने गरेको सुनाए।

पुराना दलहरूसँग देश चलाउने स्पष्ट वैचारिक दृष्टिकोण र नीति नभएका कारण मतदाताले उनीहरूलाई दण्डित गरेको महतोको विश्लेषण छ।

‘जनतालाई सुशासन र समृद्धि चाहिएको छ तर पुराना दलहरूसँग न विचार छ, न त काम गर्ने शैली नै,’ महतोले भने, ‘विचारविहीन पुरानो अनुहार लिएर मात्र काम लाग्दैन, त्यसैले जनताले विचारसहितको नयाँ विकल्प खोजेका हुन्।’

उनले चुनावमा परिवर्तन भन्ने शब्दले जनताको भावनामा गहिरो प्रभाव पारेको बताए। जनताले कुन पार्टीको विस्तृत नीति र सिद्धान्त के हो भनेर गहिरिएर बुझ्नुभन्दा पनि जसले सुशासन र समृद्धिको आश देखायो, उसैलाई मतदान गरेको उनको तर्क छ।

यद्यपि, अनुहार मात्र नयाँ भएर नपुग्ने र स्पष्ट विचारसहितको विकल्प देशलाई आवश्यक रहेकोमा उनले जोड दिए।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै अध्यक्ष महतोले यस्तो बताएका हुन्।

प्रकाशित: ११ चैत्र २०८२ १९:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App