७ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
राजनीति

परराष्ट्रमन्त्रीसँग खाडी क्षेत्रका तीन देशका राजदूतको शिष्टाचार भेट

फाइल तस्बिर

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरब , संयुक्त अरब इमिरेट्स (युएई) र कतारका राजदूतले बेग्लाबेग्लै शिष्टाचार भेट गरेका छन्।

परराष्ट्र मन्त्रालयलका अनुसार तीनै देशका राजदूतहरूले मन्त्री खनाललाई कार्यकक्षमा भेट गरेका हुन्। 

साउदी राजदूत फहद मोहम्मद ए. मनिख्रसँगको भेटमा दुई देशबिचको सहकार्यलाई अझ विस्तार गर्ने तथा नेपालको सामाजिक–आर्थिक विकासका विभिन्न क्षेत्रमा साउदी लगानी आकर्षित गर्ने विषयमा छलफल भएको थियो।

त्यसैगरी, युएईका राजदूत अब्दुल्ला अल शाम्सीसँगको भेटमा नेपाल–यूएईबिचको दीर्घकालीन सम्बन्ध सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको थियो।

कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँगको भेटमा श्रम आप्रवासन, जलविद्युत र कृषिमा साझेदारी, पर्यटन र लगानी प्रवर्द्धन लगायत पारस्परिक हितका क्षेत्रहरूमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने बारेमा छलफल भएको थियो। 

उनीहरूबीच आर्थिक साझेदारी अभिवृद्धि, नयाँ सहकार्यका क्षेत्र पहिचान गर्ने तथा द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय तहमा सहयोग बढाउने विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

प्रकाशित: ४ वैशाख २०८३ ११:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App