नेकपा (एमाले) मा वरिष्ठ उपाध्यक्ष पद हटाउनेबारे छलफल भएको छ। वरिष्ठ हटाएर उपाध्यक्ष मात्रै राख्ने गरी प्रारम्भिक छलफलहरू भएका छन्।
एक पदाधिकारीका अनुसार जनसङ्गठनमा पनि हटाइएकाले पार्टीमा पनि वरिष्ठ उपाध्यक्ष पद हटाउने गरी छलफल सुरु भएको हो। 'जनसङ्गठनमा पनि वरिष्ठ उपाध्यक्ष पद हटाइसकेका छौँ। पार्टीमा पनि यही व्यवस्था कायम गर्ने कि भन्नेबारे छलफल भएका छन्,' ती पदाधिकारीले भने।
त्यसो त वरिष्ठ उपाध्यक्ष हटाएर सहअध्यक्ष पद 'क्रियट' गर्ने चर्चासमेत चलेको छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको सक्रिय राजनीतिमा फर्किएकामा यो पद उपयोग हुने कोणबाट पनि एमालेभित्र छलफल सुरु भएको बताइन्छ।
एमालेले विधान महाधिवेशनकेन्द्रित छलफल बिहीबार (आज) बाट सुरु भएको छ। अहिले सचिवालयको बैठक बसिरहेको छ। उक्त बैठकमा पनि यसबारे छलफल हुनेछ।
प्रकाशित: १ श्रावण २०८२ १३:२५ बिहीबार

