कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयमा आयोजित ‘जेन–जी आन्दोलनपछिको नेपालको राजनीतिक पद्धति र परराष्ट्र नीति’ विषयमा नेपालको कूटनीतिक नेतृत्व र परराष्ट्र नीति सुधारका लागि शनिबार छलफल गरिएको छ। अन्तर्राष्ट्रिय सम्बन्ध सरोकार समुदाय नेपालद्वारा आयोजित कार्यक्रममा प्रमुख वक्ताहरूले नेपालको परराष्ट्र नीति र कूटनीतिक नेतृत्वमा सुधारको आवश्यकताका विषयमा छलफल गरेका छन्।
कार्यक्रममा डा. हरिप्रकाश चन्दले प्रस्तुत गरेको अवधारणा पत्रले १९९० पछि नेपालको परराष्ट्र मन्त्रालयको नेतृत्वमा विषय विज्ञताको अभावलाई प्रमुख चिन्ताको विषय बनाएको बताए। ‘विगत ३५ वर्षमा ३० जना परराष्ट्रमन्त्री नियुक्त भए, तर ती मध्ये अधिकांश मन्त्रीहरू कूटनीतिक वा अन्तर्राष्ट्रिय मामिलाका विषय विज्ञ थिएनन्। यसले नेपालको परराष्ट्र नीति कमजोर बनाएको छ।’
चन्दले अमेरिकामा नेपाली कूटनीतिज्ञहरूको नियुक्ति पनि समान समस्याले प्रभावित रहेको भन्दै डा.चन्दले, ‘कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा विद्यावारिधि गरेका व्यक्तिहरूलाई प्राथमिकता दिनुपर्छ। परराष्ट्र सेवामा १५ वर्षको अनुभव भएका अधिकारीहरूलाई अवसर दिनु पर्छ।’
उनले विशेषगरी कूटनीतिक मिसनमा कार्य अनुुभव भएका र अनुसन्धान क्षेत्रमा १० वर्षको अनुभव भएका व्यक्तिहरूलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। कार्यक्रममा उपस्थित त्रिविका रेक्टर प्रा. खड्ग केसीले जेन–जी आन्दोलन लाई भ्रष्टाचार, कुशासन र जवाफदेहिता अभावको परिणाम रहेको बताए । उनले भने ‘यो आन्दोलन युवाहरूको असन्तुष्टिको परिणाम हो। जसले असमानता र अन्यायको विरुद्ध आवाज उठाएको हो। अबको आवश्यकता सुशासन र जवाफदेहिता हो।’
त्यसैगरि पूर्व महान्यायाधिवक्ता र अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा.युवराज संग्रौलाले जेन–जी आन्दोलनलाई नेपाली युवाहरूको राजनीतिक चेतनाको अभिव्यक्ति रुपमा परिभाषा गरे । उनले भने, ‘यो आन्दोलन केवल हिंसा र विध्वंसको घटना होइन । यो नयाँ पुस्ताको जागरण र राजनीतिक चेतनाको प्रारम्भ हो।’
कार्यक्रममा पूर्व मुख्यसचिव र चीनका लागि पूर्व राजदूत लीलामणि पौडेलले नेपालको परराष्ट्र नीति सुधारको खाँचो रहेको बताए। ‘देशको सिमाना र कूटनीतिक सम्बन्धको रक्षा गर्नु सबैभन्दा महत्वपूर्ण कुरा हो,’ उनले भने।
छलफलमा नेपालका प्रमुख कूटनीतिक समस्याहरू र राजनीतिक पद्धतिमा सुधारसगैं परराष्ट्र नीति र कूटनीतिक नियुक्तिका विषयमा छलफल हुनुका साथै जेन–जी आन्दोलन लाई युवा वर्गको जागरण र परिवर्तनको आवश्यकताको रुपमा व्याख्या गरिएको थियो।
प्रकाशित: २३ कार्तिक २०८२ ०६:४५ आइतबार





