४ आश्विन २०८३ आइतबार
image/svg+xml
राजनीति

डिजिटल रूपान्तरण विकास र राष्ट्र निर्माणको परियोजना हो : मन्त्री तिमिल्सिना

सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले विपद् तथा संकटका समयमा नागरिकलाई निरन्तर सेवा, सूचना र सञ्चार उपलब्ध गराउन सक्ने गरि दिगो एवम्  उत्थानशील डिजिटल प्रणालीको निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

आईसिटी फाउन्डेसन नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै सञ्चारमन्त्री तिमिल्सिनाले रसुवा भोटेकोशी जलाधार क्षेत्रमा आएको विनाशकारी बाढीले जनधन, समुदाय र भौतिक पूर्वाधारमा पुर्‍याएको क्षतिसँगै नेपालको सूचना प्रणाली, सञ्चार सञ्जाल, संस्थागत समन्वय र राष्ट्रिय तयारीको समेत परीक्षण गरेको उल्लेख गरे।

उनले पछिल्ला वर्षहरूमा डिजिटल रूपान्तरणलाई मुख्यतः सुविधा, दक्षता र आधुनिकीकरणसँग जोडेर हेर्ने गरिएको भए पनि हालैका विपद् अनुभवले डिजिटल प्रणालीको निरन्तरता, विश्वसनीयता र संकट प्रतिकार्य क्षमतालाई समान प्राथमिकता दिनुपर्ने आवश्यकता देखाएको बताए।

उनले संकटका समयमा सूचना पूर्वाधारजत्तिकै महत्वपूर्ण हुने, सञ्चार यातायातजत्तिकै आवश्यक पर्ने, विश्वसनीय तथ्याङ्क निर्णय प्रक्रियाको आधार बन्ने र सार्वजनिक विश्वास प्रविधिको प्रभावकारितासँग प्रत्यक्ष रूपमा जोडिने बताए।

‘भोटेकोशीको बाढीले हाम्रो भौतिक पूर्वाधारको मात्र परीक्षण गरेन। यसले हाम्रा सूचना प्रणाली, सञ्चार सञ्जाल, संस्थाहरूबीचको समन्वय र तीव्र रूपमा परिवर्तन भइरहेको विश्वका लागि हाम्रो सामूहिक तयारीको समेत परीक्षण गर्‍यो,’ उनले भने।

उनले डिजिटल शासन, विपद् प्रतिकार्य, तथ्याङ्क आदानप्रदान, डिजिटल सार्वजनिक सेवा, कृत्रिम बुद्धिमत्ता, तथ्याङ्क सम्प्रभुता र डिजिटल अर्थतन्त्रलाई अलग–अलग विषयका रूपमा मात्र नहेरी राष्ट्रिय क्षमता निर्माणसँग जोड्नुपर्नेसमेत बताए।

सञ्चारमन्त्री तिमिल्सिनाले नेपालको डिजिटल विकासको आगामी चरणलाई मार्गदर्शन गर्न पाँचवटा प्रमुख प्राथमिकता प्रस्तुत गरे।  

उनले सूचना विश्वसनीयता र सार्वजनिक विश्वास, भरपर्दो तथा समावेशी कनेक्टिभिटी, सरकारी निकायबीच अन्तरसञ्चालन क्षमता, नागरिककेन्द्रित डिजिटल सेवा तथा कृत्रिम बुद्धिमत्ता र तथ्याङ्क शासनको जिम्मेवार प्रयोगलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

उनले डिजिटल भविष्यको आधार तथ्यपरकता, पारदर्शिता, जवाफदेहिता र सार्वजनिक विश्वासमा निर्माण गर्नुपर्नेमा जोड दिए।

यस्तै, सरकारी निकायमा रहेका तथ्याङ्क तथा सूचनालाई संस्थागत सीमाभित्र मात्र सीमित नराखी सेवा प्रवाह, समन्वय र निर्णय प्रक्रियामा प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने पनि सञ्चारमन्त्री तिमिल्सिनाले बताए।

प्रकाशित: ४ आश्विन २०८३ १२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App