नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीलाई एक ढिक्का बनाएर लैजानु नै आजको आवश्यकता भएको बताएका छन्। शनिवार डा. शेखर कोइरालाले बोलाएको समूहको छलफलपछि पत्रकारसँग कुराकानी गर्दै उपसभापति गुरुङले पार्टीभित्र सधैँ झगडा गर्नु पनि पार्टीको हितमा नहुने बताएका हुन्।
अहिले महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको अडान राखिरहेका बेला पार्टीलाई टुक्रिन नदिने समूहको भेला बसेको पनि उनले बताए।
‘विशेष महाधिवेशन पक्षधरलाई साथ दियो–दिएन भन्ने कुरा गौण हो। सिंगो पार्टीलाई कसरी लैजाने भन्ने कुरा प्राथमिकतामा हुन्छ,’ उपसभापति गुरुङले भने,‘पार्टी कहाँनेर पुग्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। सबैले यसमा ध्यान दिनुपर्छ।’
पार्टी एक परिवार भएको टिप्पणी गर्दै गुरुङले त्यसले परिवार बलियो हुन नसक्ने बताए। उनले भने, ‘परिवारमा दिनदिनै झगडा ग¥यो भने के हुन्छ? त्यो परिवार बलियो हुन्छ कि कमजोर हुन्छ?’
प्रकाशित: १९ पुस २०८२ १५:१३ शनिबार





