नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लामो स्वास्थ्य उपचारपछि नेपाल फर्किएसँगै देशवासीका नाममा अपील गरेका छन्।
विदेशमा स्वास्थ्य उपचार गरी आज स्वदेश फर्किएका देउवाले सत्ता राजनीतिको प्रतिशोध छोडेर राष्ट्रिय सहमति, एकता र रूपान्तरणको मार्गमा अघि बढ्न सबै दल तथा नागरिकहरूलाई आह्वान गरेका हुन्।
नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल मात्र नभएर दशकौँको सङ्घर्षबाट निर्माण भएको लोकतान्त्रिक इतिहासको मूल संवाहक भएको बताएका छन्। वि सं २०२० देखि सुरु भएको आफ्नो राजनीतिक यात्रालाई स्मरण गर्दै उनले वीपी कोइराला, सुवर्ण शम्शेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला जस्ता अग्रजहरूको त्याग र बलिदानलाई बिर्सन नसकिने बताएका छन्।
उनले गत भदौको जेनजी आन्दोलनलाई स्मरण गर्दै युवा पुस्ताको मौन पीडा र प्रखर आवाज दुवैलाई कांग्रेसले गम्भीरतापूर्वक आत्मसात् गरेको बताएका छन्। ‘विश्व बदलिएको छ, र हामी पनि समयको गतिसँगै अघि बढ्नुपर्छ। युवाहरूको माग जायज छ, तर विगतका लोकतान्त्रिक सङ्घर्ष र उपलब्धिहरूलाई नकारात्मक रूपमा मात्र व्याख्या गरिनु गलत हुनेछ,’ उनले भनेका छन्। साथै उनले पार्टीैभित्रको कमजोरीहरूलाई स्वीकार गर्दै नयाँ पुस्तासँग सहकार्य गर्न कांग्रेस तयार रहेको बताएका छन्।
साथै देउवाले वर्तमान सरकारलाई आफ्ना दायित्व नभुल्न र राजनीतिक पूर्वाग्रह तथा प्रतिशोधमा नलाग्न आग्रह गरेका छन्।
‘ताजा जनमत पाएको सरकारले जनताको आकाङ्क्षा पूरा गर्न सकेन भने लोकतन्त्रमा जनता नै अन्तिम निर्णायक हुन्छन्,’ उनले भनेका छन्। कांग्रेस अन्धधुन्ध दौडमा नलाग्ने तर विवेक, पारदर्शिता र न्यायको आधारमा परिवर्तन व्यवस्थापनमा सहयोग गर्न तयार रहेको उनको भनाइ छ।
पछिल्लो समय पार्टीभित्र देखिएको असहमति र निराशालाई एकताबद्ध बनाएर लैजानुपर्ने र कांग्रेस कसैको अहममा नभई जनताको सर्वोच्च हितलाई केन्द्रमा राखेर अगाडी बढ्नुपर्ने बताएका छन्। आफूले राजनीतिक रूपमा कुनै व्यक्तिगत महत्वाकाङ्क्षा नराखेको र आफ्नो राजनीतिक जीवनको अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्न तयार रहेको बताएका छन्।
उनले २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको सन्देश लिएर वीपी कोइराला स्वदेश फर्किएको बताउँदै देउवाले ४७ वर्षपछि आज पुनः त्यस्तै बृहत् राष्ट्रिय एकता र सर्वपक्षीय सहकार्यको आवश्यकता रहेको हुँदा प्रतिशोध होइन, मेलमिलापको मार्गमा अगाडी बढ्न आवहान गरेका छन्।
प्रकाशित: २८ श्रावण २०८३ १३:५५ बिहीबार




-600x400.jpg)
