११ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

निवासमा भेटिएको रकमबारे देउवाको बयान: एआईबाट बनाइएको षड्यन्त्र हो

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भदौ २४ गते आफ्नो बुढानिलकण्ठस्थित निजी निवासमा भएको तोडफोड, आगजनी र लुटपाट ठूलो षड्यन्त्र भएको बयान दिएका छन्।

जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई बयान दिँदै उनले घटनामा संलग्न जो-कोहीलाई कानुनी कारबाही हुनुपर्ने माग गरेका छन्।

आयोगको प्रतिवेदन अनुसार देउवाले आफ्नो निवासबाट बरामद भएको भनिएको रकम र त्यसबारे सामाजिक सञ्जालमा फैलिएका भिडियोहरू आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरी बनाइएको हुनसक्ने दाबी गरेका छन्।

आयोगसमक्ष बयान दिने क्रममा देउवाले ती दुई दिनको बेलिबिस्तार लगाए। उनका अनुसार भदौ २३ गते उनी दिनभर बुढानिलकण्ठस्थित निवासमै थिए। सोही दिन साँझ बालुवाटार पुगेर उनले तत्कालीन प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरेका थिए।

भोलिपल्ट, अर्थात् भदौ २४ गते बिहान १० बजे प्रदर्शनकारीहरू उनको निवासमा भेला भएर नाराबाजी गर्न थाले। सुरक्षाकर्मीले रोक्ने प्रयास गर्दागर्दै प्रदर्शनकारीले आफूहरूमाथि हातपात गरेको देउवाले बताएका छन्। उनले भनेका छन्, ‘केही जेनजीका युवाहरूले नै मलाई बचाए। हामी राति १० बजेतिर मात्रै सुरक्षित स्थानमा पुग्न सफल भयौं।’

निवासमा तोडफोडपछि ठूलो परिमाणमा नगद भेटिएको भन्ने विषयलाई देउवाले खण्डन गरेका छन्। वडाध्यक्षको रोहबरमा प्रहरीले तयार पारेको मुचुल्कामा उल्लेख भएअनुसार त्यो रकम ठूलो नभएको उनको भनाइ छ।

सामाजिक सञ्जालमा भाइरल भएका भिडियोहरू कम्प्युटर प्रविधिबाट सिर्जना गरिएका भ्रामक सामग्री भएको उनले बताएका छन्। यद्यपि, ती भ्रामक भिडियोविरुद्ध आफूले कुनै प्रहरी कार्यालयमा उजुरी नदिएको उनले स्वीकार गरेका छन्।

आफ्नो घरमा भएको तोडफोड, आगजनी र लुटपाटको मुचुल्का प्रहरीले उठाएर लगे पनि हालसम्म कारबाही प्रक्रिया कहाँ पुग्यो भन्नेबारे आफू बेखबर रहेको उनले उल्लेख गरेका छन्।

प्रकाशित: ११ चैत्र २०८२ १६:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App