६ आश्विन २०८३ मंगलबार
image/svg+xml
राजनीति

पूर्णबहादुर खड्काको गृह जिल्लामा देउवा पक्षको चहलपहल

नेपाली कांग्रेसको इतर समूह (देउवा पक्ष) ले कर्णालीका जिल्लामा केन्द्रीय प्रतिनिधि र जिल्ला इन्चार्ज तोकेसँगै चुनावी गतिविधि तीव्र बनाएको छ। कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काको गृह जिल्ला सुर्खेतमा समेत जिल्ला संयोजक र केन्द्रीय प्रतिनिधि तोकिएपछि देउवा पक्षका नेता-कार्यकर्ताको चहलपहल बढेको हो।

देउवा पक्षले कर्णालीका अधिकांश जिल्लामा आगामी पार्टी अधिवेशन तथा चुनावी अभियानलाई लक्षित गर्दै आफ्‌ना प्रतिनिधि खटाएको छ। सुर्खेतमा जिल्ला संयोजकको जिम्मेवारी ललित भट्टराईलाई दिइएको छ भने केन्द्रीय प्रतिनिधिको जिम्मेवारी महेन्द्र शाहीले पाएका छन्।

केन्द्रीय प्रतिनिधि तोकिएसँगै देउवा पक्षका नेता-कार्यकर्ताको जमघट वीरेन्द्रनगरमा बाक्लिन थालेको छ। मंगलवार देउवा पक्षले सुर्खेतमा भेला आयोजना गर्दैछ। वडा तहमा निर्वाचन समिति गठन तथा अधिवेशनको तयारीसमेत अघि बढाइएको केन्द्रीय प्रतिनिधि महेन्द्र शाहीले बताए। उनका अनुसार जिम्मेवारी पाएलगत्तै सुर्खेतका सबै वडामा अधिवेशनको तयारी थालिएको छ।

‘१५ गतेदेखि हुने वडा अधिवेशनलाई लक्षित गरेर वडा तहमा निर्वाचन समिति गठनलगायतका तयारी अघि बढाइएको छ।’ शाहीले भने, ‘क्रियाशील सदस्यहरू पनि उत्साहका साथ निर्वाचन प्रक्रियामा सहभागी हुन तयारी गरिरहेका छन्।’

सुर्खेतसहित कर्णालीका अन्य जिल्लामा समेत १५ गतेदेखि हुने वडा अधिवेशनलाई लक्षित गरेर कांग्रेसभित्र गतिविधि बढेको छ। देउवा पक्षले जिल्ला संयोजक तथा केन्द्रबाट प्रतिनिधिहरु खटाएर संगठन परिचालन र चुनावी तयारीलाई तीव्रता दिएको हो।

सुर्खेतमा यसअघि पार्टी सस्थापन (गगन पक्ष) संग कुनै पनि कार्यक्रममा  सहभागी नभएका पूर्णबहादुर खड्कानिकट कतिपय नेता-कार्यकर्तासमेत पछिल्लो समय कांग्रेसको संस्थापन पक्षसँग आबद्ध भएर असोज ३ गते हुने निर्वाचनमा होमिएका थिए। यसले सुर्खेत कांग्रेसभित्र आगामी अधिवेशनलाई लिएर नयाँ राजनीतिक समीकरण र प्रतिस्पर्धाको वातावरण समेत बनाएको कांग्रेसका नेताहरू बताउँछन्।

प्रकाशित: ६ आश्विन २०८३ १४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App