नेपाली कांग्रेसका इतर पक्षका नेता डा. प्रकाशशरण महतले पार्टीभित्र देखिएको विवाद समाधानका लागि आफूहरू संस्थापन पक्षसँग वार्तामा बस्न तयार रहेको बताएका छन्। उनले मिलाउने इच्छाशक्ति भए अहिलेको अवस्थामा पनि सहमति सम्भव रहेको धारणा व्यक्त गरे।
चुनदेवीमा बसेको इतर पक्षको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महतले संस्थापन पक्षले वार्ताका लागि ठोस पहल नगरेको आरोप लगाए। उनले वार्ताको मिति प्रस्ताव गरे आफूहरू शेखर कोइरालासहित तत्काल छलफलमा बस्न तयार रहेको बताए।
‘अहिलेकै अवस्थामा पनि मिल्न सकिहालिन्छ। त्यसका लागि बस्नुपर्यो। उहाँहरूले कहिले बस्ने भनेर खबर गर्नुभयो भने शेखरजीसहित हामी बस्छौँ। जुन दिन प्रस्ताव ल्याउनुहुन्छ, त्यही दिन छलफल गर्न तयार छौँ। बसेपछि उहाँहरूको कुरा पनि सुनौँ, हाम्रो कुरा पनि राखौँ र असहमतिका विषय त्यहीँ टुंग्याऔँ,’ उनले भने।
महतले वार्ताविनै पार्टी एकता गर्न खोजिएको भन्ने प्रचारको कुनै अर्थ नरहने उल्लेख गर्दै वास्तविक रूपमा सहमति खोज्ने हो भने नमिल्ने कुनै विषय नरहेको बताए।
‘साँच्चिकै मिलाउने इच्छा हो भने नमिल्ने कुनै कुरा छैन। तर मिलाउनै नचाहने हो भने जे पनि हुन सक्छ,’ उनले भने।
क्रियाशील सदस्यता अद्यावधिकका विषयमा आफूहरूको धारणा स्पष्ट रहेको बताउँदै महतले सबै केन्द्रीय सदस्यलाई समेट्ने विकल्प प्रस्ताव गरिएको जानकारी दिए। पार्टी परित्याग गरेका बाहेक सबैको सदस्यता अद्यावधिक हुनुपर्ने माग आफूहरूको रहेको उनले दोहोर्याए।
‘हामीले सदस्यता अद्यावधिक गर्नु हुँदैन भनेका होइनौँ। गर्नुस्, तर कसैको गर्ने र कसैको नगर्ने होइन। सबैलाई समान व्यवहार हुनुपर्छ। मिलाउने आशय र इच्छाशक्ति संस्थापन पक्षमा हुनुपर्यो। अहिले पनि सहमतिको सम्भावना कायमै छ,’ उनले भने।
प्रकाशित: २२ असार २०८३ १७:३८ सोमबार





