नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनतर्फ अघि बढेपछि पार्टी फुटको संघारमा पुगेको भन्दै आशंका बढेको छ। महामन्त्री द्वय थापा र शर्माले नियमित महाधिवेशन सम्भव नभएको बताउँदै अब विशेष महाधिवेशन निर्विकल्प भएको बताउन थालेका छन्।
महामन्त्री द्वयकै सल्लाह बमोजिम विशेष महाधिवेशन पक्षधरण यही पुस २७ र २८ गते विशेष महाधिवेशन बोलाउने तयारी गरेका छन्। जसले पार्टी फुटको सम्भावना बढाएको भन्दै कांग्रेसको आन्तरिक राजनीतिक गर्माएको छ।
यसैबिचमा संस्थापन पक्षबाट मध्यमार्गी प्रयास गरिरहेका २५ जना केन्द्रीय सदस्य सक्रिय भएका छन्। केन्द्रीय सदस्यहरू पुष्पा भुसाल, आङ्गेलु शेर्पा, डा.डिला संग्रौला, उदयशमशेर राणा, राजेन्द्र केसीलगायतका केन्द्रीय सदस्यहरूले शुक्रबार पार्टी सभापति शेरबहादुर देउवा र दुवै महामन्त्रीलाई भेटेका छन्।
भेटमा नियमित महाधिवेशन सम्भव नभएपछि पार्टीबाट थप कुनै जानकारी नआएको, विशेष महाधिवेशन भन्दै महामन्त्री नै अगाडि बढेको, त्यसले पार्टी फुटको चिन्ता मडारिएको, समानुपातिक बन्दसूचीको विवादलगायतका विषयमा कुराकानी भएको केन्द्रीय सदस्य संग्रौलाले बताइन्।
‘हामीले मूलतः पार्टी फुटकै चिन्ता प्रकट ग¥यौँ। चुनाव आउन लागेका बेला पार्टी एकता जरुरी रहेको र त्यसैमा गम्भीर बनेर पार्टी फुट रोक्न आग्रह गरेका छौँ,’ संग्रौलाले भनिन्, ‘यसमा सभापति र दुवै महामन्त्रीबाट पार्टी फुट्ने नदिने वाचा आएको छ।’
सभापति देउवाले चुनाव आइसकेकाले विशेष महाधिवेशन हुन नसक्ने र अहिले पार्टी एकताबद्ध भएरै चुनावमा होमिनुपर्ने बताएको संग्रौलाले जानकारी दिइन्। ‘पार्टी फुट्न दिनुहुन्न। म पनि दिन्न। तपाईँहरू पनि लाग्नुस् भनेर सभापति ज्युले भन्नुभयो। निर्वाचन लागिसकेकाले महाधिवेशन गर्न नसकिने कुरा सबैले बुझिदिनुपर्छ भन्ने उहाँको धारणा छ,’ उनले भनिन्।
उता महामन्त्री थापा–शर्माले पनि पार्टी फुट्न नदिने प्रतिबद्धता जनाएको संग्रौलाले बताइन्। ‘विशेष अधिवेशन वैधानिक बाध्यता रहेको उहाँहरूले भन्नुभयो। तर पार्टी नै फुट्ने गरी जान्नौँ भन्ने उहाँको कुरा छ,’ उनले भनिन्।
सबैले आजै ३ बजे दिउँसो बस्ने भनिएको कार्यसम्पादन समितिको बैठक पर्खेर बसेका छन्। ‘बैठकले पनि केही निकास दिन्छ भन्ने अपेक्षा छ,’ संग्रौलाले भनिन्, ‘नभए दुई–तीन दिन अझै बाँकी छ। हामी पनि पार्टी फुट जोगाउन मेहनत गर्छौैँ।’
प्रकाशित: १८ पुस २०८२ १५:०५ शुक्रबार





