२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

नेतृत्व परिवर्तनबारे टेलिफोन संवादमा देउवा

नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग चर्को रुपमा उठेको छ। मुलुकका ठुला राजनीतिक दलहरुमा नेतृत्व परिवर्तनको बहस चलिरहेका बेला कांग्रेसमा नयाँ नेतृत्व छान्न विशेष महाधिवेशन बोलाउन विभिन्न तहमा बहस भएको हो।

यस विषयमा सभापति शेरबहादुर देउवाले नेताहरुसँग टेलिफोनमा कुराकानी गरिरहेका छन्। जेन-जी आन्दोलनका क्रममा आक्रमणमा परी घाइते भएका देउवाले भौतिक रुपमा नेताहरुसँग भेट नगरी टेलिफोनबाट संवाद गरिरहेका हुन्।

असोज २६ गते केन्द्रीय समिति बैठक बोलाइएको छ। त्यसअघि नै महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशन डाक्ने हस्ताक्षर बुझाउने तयारी गरेका छन्।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमा एउटा भिडियो सन्देश राख्दै विशेष महाधिवेशनका लागि यही असोज २४ गतेसम्म हस्ताक्षर गरिसक्न महाधिवेशन प्रतिनिधिहरूलाई अपिल गरेका छन्।

‘हस्ताक्षर गर्न चाहनुहुन्छ भने २४ गते भित्रै गर्नुस्,’ शर्माले मंगलबार भिडियो सन्देशमा भनेका छन्। उनको यो सन्देशले कांग्रेस चाँडै नै विशेष महाधिवेशनमा जाने संकेत गरेको छ। विशेष महाधिवेशन गर्दा पार्टी थप बलियो हुने महामन्त्री शर्माको विश्वास छ।

जेन-जी आन्दोलनपछि सभापति देउवाले असोज २६ गते बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाएपछि संस्थापन इतर पक्षले विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन अभियान थालेको हो।

नेतृत्व परिवर्तनको बहसमा रहेको कांग्रेस केन्द्रीय समिति बैठकपछि यस मामिलामा औपचारिक रुपमा अघि बढ्ने नेताहरुले बताएका छन्। कांग्रेसको एउटा समूह विशेष महाधिवेशन माग गर्दै असोज २५ मै हस्ताक्षर बुझाउने तयारीमा छ।

जेन-जी आन्दोलनपछि सभापति देउवाले नेतृत्व छाड्नुपर्ने भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता डा. शेखर कोइरालाले छुट्टाछुट्टै लविइङ गरिरहेका छन्।

विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियानको नेतृत्व भने गुरुराज घिमिरेले गरिरहेका छन्। उनले असोज पहिलो साताबाटै यो अभियान थालेका हुन्।

त्यसैगरी महामन्त्री थापा पनि हस्ताक्षर संकलन अभियानमा लागेका छन्। महामन्त्री थापा निकट केन्द्रीय सदस्य अजय शिवाकोटीले केन्द्रीय समिति बैठकमा महाधिवेशनको बहस हुने बताए। ‘अहिलेको राजनीतक परिस्थितिमा नेतृत्व पुनर्गठन र महाधिवेशनको बहस अवश्य हुनेछ’, शिवाकोटीले भने।

पार्टी रुपान्तरणका लागि एमालेका विभिन्न तह र तप्कामा भेला र बैठक भैरहेका बेला कांग्रेस केन्द्रीय समिति बैठकअगावै नेतृत्व बदल्न महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन गरी बुझाउन लागिएको हो।

कांग्रेसमा महामन्त्रीद्वय थापा र शर्मा पार्टी पुनर्संरचना र नेतृत्व परिवर्तनका लागि विभिन्न तहका छलफल र बैठकमा जुटेका छन्। थापाले पार्टी पुनर्गठनका लागि आवश्यक परे आफू महामन्त्री पदसमेत त्याग्न तयार रहेको बताइसकेका छन्।

‘हामी अहिले जे, जसरी चलिरहेका छौं त्यसको निरन्तरताले मात्र पार्टी पुनर्निर्माण आरम्भ हुँदैन। पार्टीमा आमूल सुधारका लागि हामी पद छाड्न पनि तयार हुनुपर्छ, नयाँ जोखिम उठाउन तयार रहनुपर्छ’, थापाको प्रस्ताव छ, ‘यसका लागि म सहर्ष महामन्त्री पद छोड्न तयार छु। यसमा छलफल सुरु गरौं। स्वीकार गरौं हामीबाट गल्ती भएको छ, पार्टी रुपान्तरणका लागि आत्मसमीक्षा, पुनर्मूल्यांकन र आत्मसंकल्प गरौं।’

असोज ६ गते नेता कोइराला र महामन्त्री थापानिकट १०९ महाधिवेशन प्रतिनिधिले संयुक्त वक्तव्य जारी गर्दै हस्ताक्षर संकलन अभियान थालेका थिए। अहिले कांग्रेसका ४७ सय ४३ महाधिवेशन प्रतिनिधि छन्।

विधानअनुसार महाधिवेशन प्रतिनिधिको ४० प्रतिशतले हस्ताक्षर गरेर बुझाएमा महाधिवेशन डाक्न सक्ने प्रावधान छ। यसै प्रावधानमा टेकेर महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर संकलन गरिरहेका छन्।

महासमिति सदस्य देवराज चालिसेले २६ गते बस्ने केन्द्रीय समिति बैठकले महाधिवेशन बोलाउने निर्णय नगरे हस्ताक्षर बुझाइने बताए। ‘पहिला त हामी विधिसम्मत होस् भन्ने चाहन्छौं, यदि भएन भने विधानले दिएको अधिकार प्रयोग गर्न हामी बाध्य हुनेछाैं,’ उनले भने।

कांग्रेसमा केन्द्रीय समितिले निर्णय गरेमा वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित विशेष महाधिवेशन माग गरेमा त्यस्तो प्रक्रिया आरम्भ गर्न सकिन्छ।

केन्द्रीय समितिमा देउवाको स्पष्ट बहुमत भएकाले त्यसले विशेष महाधिवेशन बोलाउने सम्भावना निकै कम छ। यद्यपि पछिल्लो राजनीतिक घटनाक्रमले संस्थापन पक्षभन्दा इतर पक्ष बलियो जस्तो देखिएको कांग्रेसका केही नेता बताउँछन्।

कांग्रेस इतर समूहले नेतृत्व परिवर्तनको पक्षमा निरन्तर छलफल र लबिइङ गर्दै आएको छ। यस्तो अवस्थामा कांग्रेस नेताहरु कृष्ण सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ भने अलमलमा छन्। उनीहरुले विशेष महाधिवेशन वा नियमित महाधिवेशन कता जाने भन्नेमा स्पष्ट दृष्टिकोण सार्वजनिक गरेका छैनन्।

प्रकाशित: २१ आश्विन २०८२ २०:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App