सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ८ बमोजिम उपसभामुख पदको निर्वाचन शुक्रबारका लागि तोकेका छन्।
संसद् सचिवालयका सचिव हर्कराज राईले बुधबार सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार बिहीबार बिहान ११ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। आजै दिउँसो २:३० बजे उम्मेदवारको सूची प्रकाशन गरिने छ। शुक्रबार दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा निर्वाचन प्रक्रिया अघि बढ्ने छ।
२७५ सदस्यीय प्रतिनिधिसभामा १८२ सांसदसहित सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहज एकल बहुमतमा छ। सदनमा कांग्रेसका ३८, एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ र एक स्वतन्त्र सांसद छन्। रास्वपा आफैँ बहुमतमा रहेकाले उसले जसलाई समर्थन गर्छ, उही उपसभामुख हुने निश्चित छ। उपसभामुख पदका लागि श्रम संस्कृति र राप्रपाको बलियो दाबेदारी रहेको छ।
रास्वपा अहिलेसम्म कसैको पक्षमा खुलेको छैन। उपसभामुख पदका लागि प्रधानमन्त्री बालेन्द्र शाहले श्रम संस्कृति र सभापति रवि लामिछानेले राप्रपालाई दिनुपर्ने अडान राखेको स्रोतको दाबी छ।
यसैबिच, राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ९५ बमोजिम चैत २७ गते दिउँसो ३ बजे उनले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। राष्ट्रपतिले दुवै सदनका सदस्यहरूलाई उपस्थितिका लागि आह्वान समेत गरेका छन्।
प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो ४ बजे र राष्ट्रियसभाको बैठक शुक्रबार अपराह्न ४:१५ बजे बस्ने गरी तय भएको छ।
निर्वाचन तालिका हेर्नुस्

प्रकाशित: २६ चैत्र २०८२ ०७:५२ बिहीबार





