सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले कार्कीको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरी मुद्दाको अन्तिम समयमा नै त्यसबारे निर्णय हुने भनी आदेश गरेको हो।

सुनुवाइका क्रममा सुरुमा सरकारी पक्ष र त्यसपछि रिट निवेदक कार्कीका कानुन व्यवसायीले बहस गरेका थिए। बालेन सरकारले गत १८ कात्तिकमा कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्दै डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो।
आफूलाई गैरकानुनी रूपमा पदबाट हटाएर अन्याय गरिएको दाबी गर्दै सरकारको उक्त निर्णय रोक्न माग राखेर कार्कीले २० कात्तिकमा सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए।
बुधबारको बहसमा कार्कीको पक्षबाट वकालत गर्ने कानुनविद्हरूले सरकारको निर्णय प्रथम दृष्टिमै गैरकानुनी रहेको दाबी गर्दै अन्तरिम आदेशको माग गरेका थिए।
कार्कीको बचाउमा बहस गर्दै पूर्वमहान्यायाधिवक्तासमेत रहेका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रहरी महानिरीक्षक पद सरकारले जहाँ खटायो त्यहीँ पठाउने पद नभएको तर्क गरेका थिए। सरकारले हटाएको नभई खटाएको बताइरहँदा त्यसले मुलुकमा दुईजना आईजीपी हुने अवस्था सिर्जना गरेको उनको जिकिर थियो।
कानुनले नै निश्चित पदावधि तोकेको पदबाट अवधि पूरा नहुँदै पदमुक्त गर्न नमिल्ने र हटाउनै परे स्पष्ट, वस्तुनिष्ठ तथा उचित कानुनी आधार र कारण खुलाउनुपर्ने सर्वोच्चकै पूर्वनजिर रहेको उनले उल्लेख गरे।
कार्कीका अर्का कानुन व्यवसायी अधिवक्ता माधवकुमार बस्नेतले प्रधानमन्त्रीको सल्लाहकारमा खटाउँदा साबिकको आईजीपी पद यथास्थितिमै रहने तर्क पेस गरेका थिए।

अधिवक्ता टीकाबहादुर कुँवरले कार्यकाल १८ महिना बाँकी रहँदै सरकारले नियोजित रूपमा कार्कीलाई पदबाट हटाउँदा प्रतिशोधपूर्ण निर्णय देखिएको दाबी गरेका थिए।
उनले हितेन्द्रदेव शाक्यको रिटमा निश्चित अवधिका लागि नियुक्त पदाधिकारीलाई कानुनी प्रक्रिया र सहमतिबिना हटाउन वा अर्को निकाय वा नयाँ सिर्जना गरिएको पदमा सरुवा गर्न नपाइने नजिर स्थापित भएको दृष्टान्त इजलाससमक्ष पेस गरेका थिए।
प्रहरी महानिरीक्षक आफैंमा सुरक्षा सल्लाहकारको भूमिकामा रहने पद भएकाले कार्कीलाई पुनः सुरक्षा सल्लाहकारमा नियुक्ति गर्नुको कानुनी औचित्य साबित नहुने जिकिरसमेत कुँवरले गरेका थिए।
प्रकाशित: ९ मंसिर २०८३ १८:०२ बुधबार




-600x400.jpg)
