१८ आश्विन २०८३ आइतबार
image/svg+xml
राजनीति

लोकतन्त्र व्यवस्था मात्र होइन, नागरिकको जीवन बदल्ने माध्यम पनि हो : महामन्त्री घिमिरे

नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले लोकतन्त्रको रक्षाका लागि लामो समय संघर्ष गरे पनि जनताले उठाएका प्रश्नको जवाफ दिन नसकेको बताएका छन्। 

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सम्बोधन गर्दै उनले कांग्रेसका लागि मात्र नभई समग्र देशको राजनीतिमा नयाँ चरणको सुरुवात बन्नुपर्ने बताए। 

‘कांग्रेस अब राजनीतिको केन्द्रमा राष्ट्रलाई अघि राखेर अघि बढ्छ। पार्टीलाई पुनर्जीवन दिएर अघि बढ्छ। नयाँ पुस्ताको भावनाअनुसार पार्टी अघि बढ्छ,’ उनले भने। 

महामन्त्री घिमिरेले लोकतन्त्र र राजनीति सही बाटोमा अघि बढिरहेको छ कि छैन भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने बताए। ‘आज लोकतन्त्र सही बाटोमा हिँडिरहेको छ कि छैन, राजनीति सार्थक भइरहेको छ कि छैन ? हामी सबैमाथि प्रश्न उठिरहेको छ,’ उनले भने, ‘यो प्रश्नको समुचित जवाफ खोज्ने दायित्व हामी सबैको हो। यदि यो प्रश्नको समुचित जवाफ खोज्न सक्यौँ भने राजनीति सार्थक हुन्छ।’ 

लोकतन्त्रलाई नागरिकको जीवन परिवर्तन गर्ने माध्यमका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिँदै उनले जनताको जीवनस्तर सुधार र राष्ट्रिय समुन्नतिलाई अबको कांग्रेसको मुख्य एजेन्डा बनाउनुपर्ने बताए। 

‘लोकतन्त्र भनेको केवल व्यवस्था मात्र होइन, नागरिकको जीवन बदल्ने माध्यम पनि हो,’ घिमिरेले भने, ‘छिमेकी मित्रराष्ट्रहरूसँगको सुमधुर सम्बन्धले मात्र हाम्रो लोकतन्त्रलाई थप सबल बनाउन सक्छ। तर, हामीले लोकतन्त्रको रक्षा गर्दागर्दै पनि जनताका मनमा उठेका प्रश्नहरूको समुचित जवाफ दिन सकेनौँ। यो हाम्रो आत्मसमीक्षाको विषय हो।’ उनले राजनीति सत्ता र औपचारिकतामा मात्र सीमित हुन नहुने बताए। 

‘हामीले बुढेसकाललाई सम्मानित बनाउन सकेनौँ र युवालाई समुन्नतिको स्पष्ट बाटो देखाउन सकेनौँ । अबको राजनीति केवल सत्ता र औपचारिकतामा मात्र सीमित हुनुहुँदैन,’ घिमिरेले भने। 

प्रकाशित: १८ आश्विन २०८३ १५:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App